प्रमुख अभियोजनकर्ताको कार्यालय ‘कब्जामा’

  • 5 अगस्ट 2017
नियन्त्रणमा तस्वीर कपीराइट AFP

भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको कटु आलोचक रहेकी प्रमुख अभियोजनकर्ता लुइसा ओर्टेगाले आफ्नो कार्यालयलाई सेनाले कब्जामा लिएको बताएकी छन्।

५४५ सदस्यीय नवनिर्वाचित संविधानसभा प्रारम्भ भएको भोलिपल्ट पछिल्लो खबर प्रकाशमा आएको छ।

ओर्टेगाले जालझेल गरी संविधानसभा गठन गरिएको भन्दै त्यसलाई रोक्न स्थानीय अदालतलाई आग्रह गरेकी थिइन्।

उनले चुनावको परिणामलाई सरकारले गलत ढंगले प्रस्तुत गरेको तर्क अगाडि सारेकी थिइन्।

स्वेच्छाचारी

मतदान प्रविधि उपलब्ध गराएको एउटा विदेशी कम्पनीले पनि भेनेजुएला सरकारले मत परिणामलाई तलमाथि पारेको बताएको थियो।

तस्वीर कपीराइट EPA

आफ्नो कार्यालयलाई सेनाले नियन्त्रणमा लिएको भन्दै प्रमुख अभियोजनकर्ता ओर्टेगाले ट्वीट गरेकी छिन्, "सरकारी अभियोजनकर्ताको मुख्यालयलाई कब्जामा लिने कदम म अस्वीकार गर्दछु। यो स्वेच्छाचारी कदमको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय समक्ष म निन्दा गर्दछु।"

ओर्टेगाले दर्जनौं सुरक्षाकर्मीहरु भएको फोटो ट्वीटरमा राखेकी छन्।

मडुरोका विपक्षीहरुले संविधानसभा आफूहरुको पकड रहेको संसद्लाई पाखा लगाउने एउटा माध्यम हुने बताउँदै आएका छन्।

पुनर्बहाली

तर मडुरोले महिनौंदेखिको हिंसापछि मुलुकमा शान्ति पुनर्बहाली गराउन र अर्थतन्त्रलाई गति दिनका निम्ति संविधानसभा सहयोगी हुने तर्क गर्दै आएका छन्।

यसअघि शुक्रवार राजधानी काराकासस्थित संसद् भवन जान खोजेका विपक्षी प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

त्यसक्रममा कैयौँ प्रदर्शनकारी घाइते भएका थिए।

केही महिनायताको हिंसामा सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।