डा. केसीको समर्थनमा राजधानीमा प्रदर्शन

  • 5 अगस्ट 2017
डाक्टर केसीको समर्थनमा र्याली

अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसीका माग पूरा गराउन दवाव दिन भन्दै शनिवार राजधानीमा पेशाकर्मी तथा उनका समर्थक लगायतले प्रदर्शन गरेका छन्।

उक्त प्रदर्शनमा हालसालै अवकाश पाएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी पनि सहभागी थिए।

सहभागीहरुले डा. केसीको माग पूरा गर्न सांसदहरुले अग्रसरता नदेखाएको भन्दै आक्रोश पोखे।

१३ दिनदेखि अनशन बसिरहेका डा. केसीका माग पूरा गर्न सरकार र संसद्ले आलटाल गरेको भन्दै विरोधस्वरुप माइतीघर मण्डलाबाट बाजागाजासहित ‍र्‍याली शुरु गरिएको थियो।

जायज

सहभागीहरुले डा. केसीको समर्थन र सांसदहरुविरुद्ध विभिन्न नारा लेखिएका टोपी लगाउनुका साथै प्लेकार्ड बोकेका थिए ।

बानेश्वरमा पुगेपछि समर्थकहरुको सभालाई पूर्व उच्चअधिकारी तथा विभिन्न पेशाकर्मीले सम्बोधन गर्दै डा. केसीको अनशनमा ऐक्यबद्धता जनाएका थिए।

तीमध्ये एक थिइन् हालै अवकाश पाएपछि सार्वजनिक कार्यक्रममा विरलै देखिनेगरेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की।

उनले भनिन्,"चिकित्सा शिक्षा महँगो नहोस्, यो व्यापार जस्तो नहोस् र अस्पतालहरुमा योग्य चिकित्सकहरु आऊन् भन्ने उहाँको माग हो। यसै बमोजिम कानून बन्नुपर्दछ भन्ने पनि उहाँको माग हो र यो माग गलत छैन यो माग कानूनसम्मत छ, न्यायसम्मत छ र विधिसम्मत यो माग हो।"

निष्कर्षविहीन

त्यस्तै मानव अधिकारकर्मी कृष्ण पहाडीले डा. केसीका माग सम्बोधन नभए सामूहिक सत्याग्रह हुन सक्ने चेतावनी दिए।

उनले भने,"जो विदेशमा उपचार गर्न जान्छन् उनीहरु डा. केसीको विरुद्धमा छन्। दुर्भाग्य के भयो भने सत्याग्रहीहरु पराजित हुँदै जाने सन्देश प्रवाह भयो।"

शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य प्रमुख दलका शीर्षस्थ नेताहरु, सम्बन्धित मन्त्रीहरु, सांसदहरुसहितको छलफल गरेर शिक्षाविद् केदारभक्त माथेमा नेतृत्वको कार्यदलको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक पारित गराउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए।

उक्त प्रतिवद्धताले मात्रै विश्वसनीय आधार सिर्जना नगरेको भन्दै डा. केसीले अनशन तोड्न अस्वीकार गरेका थिए।

डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच शनिवार पनि वार्ता भएको छ, जुन यसअघिकै वार्ताहरु जस्तै निष्कर्षविहीन बनेको बताइएको छ।

वार्ता प्रक्रिया लम्बिंदै जाँदा कमजोर बन्दै गएको भनिएको डा. केसीको स्वास्थ्यप्रति पनि व्यापक चिन्ता व्यक्त भएका छन्।