क्षेप्यास्त्र परीक्षण बन्द गरः चीन

  • 6 अगस्ट 2017
आग्रह तस्वीर कपीराइट Reuters

चिनियाँ विदेशमन्त्रीले क्षेप्यास्त्र तथा पारमाणविक परीक्षणहरु बन्द गर्न आफ्ना उत्तर कोरियाली समकक्षीलाई आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्धहरु लगाउने विषयमा सहमति गरेको केही घण्टापछि चिनियाँ विदेशमन्त्रीले त्यस्तो आग्रह गरेका हुन्।

मनिलामा भएको एउटा भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रसंघको प्रस्ताव पालना गर्न आफ्ना उत्तर कोरियाली समकक्षी री यङ होलाई भनेका छन्।

उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध

त्यसमा रीको जवाफ के थियो भन्नेबारे उनले केही बताएनन्।

सर्वसम्मति

उत्तर कोरियाली निर्यात र लगानीमाथि प्रतिबन्ध लगाउने सुरक्षा परिषद्को प्रस्ताव शनिवार सर्वसम्मतिले पारित भएको थियो।

तस्वीर कपीराइट AFP

वाङले उत्तर कोरियाविरुद्ध प्रतिबन्धहरु आवश्यक भएको बताएका छन् तर त्यो 'अन्तिम लक्ष्य नभएको' उनको भनाई छ।

वार्ताका लागि उनले आग्रह गरेका छन्।

वाङले आफूले उत्तर कोरियालाई संयम अपनाउन र क्षेप्यास्त्र परीक्षण गरेर अन्तर्राष्ट्रिय समुदायलाई नउक्साउन आग्रह गरेको बताए।

तनाव

'स्थिति गम्भीर अवस्थामा पुगेको' भन्दै उनले तनाव नबढाउन अमेरिका र उत्तर कोरियालाई आग्रह गरे।

तर फेरि वार्ता शुरु गर्ने गरी 'स्थिति संवादको अवस्थामा पुगेको' पनि उनको ठम्याई छ।

प्योङयाङले गत जुलाइमा दुईवटा अन्तरमहादेशीय बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो र ती क्षेप्यास्त्रले अमेरिकाका जुनसुकै ठाउँमा मार हान्न सक्ने बताएको थियो।

यद्यपि उसको त्यस्तो दावीप्रति विज्ञहरुले आशंका व्यक्त गर्दै आएका छन्।