राप्रपा विभाजित, राणाको नेतृत्वमा नयाँ दल

  • 6 अगस्ट 2017
राप्रपा नेताहरु

संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित भएको छ।

वरिष्ठ नेता पशुपति समशेर राणाले निर्वाचन आयोगमा छुट्टै दल दर्ताको निम्ति निवेदन दिएको नेता सुनिल थापाले जानकारी दिए।

राप्रपा र राप्रपा नेपालबीचको एकतापछि गत वर्ष भएको महाधिवेशनले कमल थापालाई अध्यक्ष निर्वाचित गरेको थियो।

एकीकरणपछि ३७ सांसदका साथ राप्रपा संसद्‌को चौथो ठूलो दल बन्न पुगेको थियो।

कारण

नेता थापाले राप्रपालाई वैकल्पिक शक्ति बनाउन अध्यक्षले नसक्ने अवस्था देखिएपछि नयाँ पार्टी खोल्नुपरेको टिप्पणी गरे।

उनले भने, "लोकतान्त्रिक शक्ति बन्ने अभियानलाई एकता महाधिवेशनपछि राप्रपाले अगाडि बढाउन सक्ने ठानेका थियौँ। तर त्यो गन्तव्यमा पुग्न नसक्ने देखेपछि अलग हुने निर्णयमा पुगेका हौँ।"

उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्।

अध्यक्ष कमल थापाले ट्वीट गरेका छन्, "एकता महाधिवेशन सम्पन्न भएको छ महिना नपुग्दै पार्टी फुटाउने काम दुर्भाग्यपूर्ण, अधिकांश हस्ताक्षर नक्कली, विचलित नहुन कार्यकर्तालाई आह्वान।"

अर्का नेता जयन्त चन्दले आश्चर्य व्यक्त गरेका छन्।

उनले भने, "एक किसिमले सहमतिको वातावरण बनिरहेको बेला यो अचानक आयो। किन यस्तो भयो मैले आफैले बुझ्न सकेको छैन।"

उनी पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन्।

-आफ्नै दावी

गत वर्ष भएको महाधिवेशनले कमल थापालाई अध्यक्ष निर्वाचित गरेको थियो।

त्यसयता देखिएको देखिएको गृहकलहका माझ उक्त दल विभाजित बनेको छ।

फुटपछि कसको पक्षमा कति सांसद छन् भन्ने प्रस्ट भइसकेको छैन।

दुवै पक्षले आ-आफ्नो पक्षमा धेरै सांसद रहेको दावी गरेका छन्।

पूर्वपञ्चहरुको बाहुल्य रहेको राप्रपाको एकता महाधिवेशनपछि अर्का नेता प्रकाशचन्द्र लोहनीले नयाँ पार्टी गठन गरिसकेका छन्।