दलाइ लामाको भ्रमणअघि बुद्ध मूर्ति चोरी

  • 6 अगस्ट 2017
मूर्ति

अफ्रिकी मुलुक बोत्सवानाको राजधानी ग्याबोरोनीस्थित एउटा मन्दिरबाट करिब ५ सय किलो तौल भएको बुद्धको मूर्ति चोरी भएको छ।

उक्त शहरस्थित बौद्धमार्गी समुदायले घटनाबाट आफूहरु निराश भएको बताउँदै त्यो मूर्ति फिर्ता ल्याउन सहयोगको निम्ति आग्रह गरेका छन्।

थाइल्याण्डले सन् १९९६ मा दान दिएको उक्त पित्तलको मूर्ति १.५ मिटर अग्लो र १.२ मिटर चौडा थियो।

त्यसलाई कम्तीमा ८ जनाले मिलेर उचाल्न सक्थे।

कारण

सम्भवत: चोरहरुले त्यसलाई सुनको मूर्ति ठानेका हुनसक्ने स्थानीयवासीको भनाई छ।

बोत्सवाना बुद्धिस्ट एशोसिएसनका अध्यक्ष दार्सिनि डे सिल्भाले बीबीसीलाई बताएअनुसार मूर्तिको मूल्य करिब २४ हजार डलर पर्न आउँछ।

प्रहरीका अनुसार गत महिना उक्त मूर्ति चोरी भएको थियो।

अध्यक्ष डे सिल्भाका भनाईमा मूर्तिको तौलका कारण सम्भवत: आपराधिक समूहले नै त्यो चोरेको हुनसक्छ।

सन् १९९६ को जुन महिनामा उक्त मूर्ति त्यहाँ लगिएको थियो।

अनुसन्धान

मन्दिरमा रहेको अर्को बुद्ध मूर्ति त्यसको चार वर्षअघि श्रीलंकाद्वारा प्रदान गरिएको हो।

प्रहरीले अनुसन्धान जारी रहेको र हालसम्म कोही पनि गिरफ्तार नभएको जनाएको छ।

स्थानीय बौद्धमार्गी समुदायले चोरहरु छिट्टै गिरफ्तार नभए मूर्तिलाई उनीहरुले पगाल्न सक्ने भएकोले त्यो सदाका निम्ति गुम्ने चिन्ता व्यक्त गरेका छन्।

बोत्सवानामा यसअघि पनि धार्मिकस्थलहरुमा चोरीका घटना भएका थिए।

गत वर्ष हिन्दु मन्दिरबाट पनि मूर्ति चोरिएको थियो। त्यो फिर्ता भए वा नभएको प्रस्ट हुन सकेको छैन।

आपत्ति

पछिल्लो चोरीको घटना अगस्त महिनाको १७ देखि १९ तारेखसम्म तिब्बती आध्यात्मिक नेता दलाइ लामाले बोत्सवानाको भ्रमण गर्नुअघि भएको छ।

यो दलाइ लामाको पहिलो अफ्रिका भ्रमण हुनेछ।

चीन बोत्सावानाको एउटा ठूलो व्यापार साझेदार हो र उसले भ्रमणप्रति आपत्ति जनाएको छ।

तर बोत्सवानाकी विदेशमन्त्रीले आफ्नो देश सार्वभौम रहेको उल्लेख गर्दै भ्रमणका निम्ति कसलाई अनुमति दिने भन्ने निर्णय आफ्नो देशले गर्ने बताएकी छन्।

दक्षिण अफ्रिकाले पाँच पटक दलाइ लामालाई अनुमति दिन अस्वीकार गरिसकेको छ।