फरक पार्टीका संयुक्त विजय जुलुस

  • 6 अगस्ट 2017
जुलुस

सिद्धान्त र विचारले दूरको पनि साइनो नभएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आइतवार चितवनमा निकालेको संयुक्त जुलुस कतिपयका निम्ति रुचिकर लाग्ने खालको थियो।

प्रमुख दलले प्रतिष्ठाको विषय बनाएको विवादित र बहुचर्चित बनेको भरतपुर महानगरपालिकाको अन्तिम मतपरिणाम शनिवार आएको थियो।

सत्ता र भरतपुर महानगरपालिकाको चुनावमा गठबन्धन गरेका दलको निम्ति संयुक्त जुलुस अस्वाभाविक होइन।

तर कतिपयले माओवादी केन्द्रकी उम्मेदवारले प्रमुख पदमा जित्दा कांग्रेस कार्यकर्ता आफ्नै जितझैं गरी हौसिएको टिप्पणी गरेका थिए।

माहोल

दुवै पार्टीका कार्यकर्ता तथा नेताहरु विजय जुलुसमा निकै उत्साहित देखिन्थ्ये।

लामो विवादका बाबजुद नेकपा माओवादी केन्द्रकी रेणु दाहाल नगर प्रमुखमा विजयी भएपछि चितवनमा छुट्टै माहोल देखिएको थियो।

भरतपुर महानगरपालिकामा रेणु दाहालको जितलाई सत्ता गठबन्धनको जितको रुपमा लिइएको छ।

एमालेको तर्फबाट नगर प्रमुखका उम्मेदवार बनेका देवी ज्ञावलीले आफ्नो हारलाई 'सत्ता गठबन्धनको खेल'को रुपमा लिएका छन्।

तर उनले आफू नै जितेको महसुस भएको टिप्पणी गरे।

गठबन्धन गरेर प्रमुख पदमा माओवादी केन्द्रले जित हासिल गरेपनि नेपाली कांग्रेसले आफैंले जितेको जस्तो जुलुसमा उत्साहपूर्ण सहभागिता जनाएको थियो।