‘भदौको पहिलो सातासम्म चुनावको मिति तोक’

  • 7 अगस्ट 2017
चुनाव तस्वीर कपीराइट AFP

निर्वाचन आयोगले भदौको पहिलो साताभित्र प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको मिति तोक्न सरकारलाई आग्रह गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सोमबार आयोगका पदाधिकारीहरुले यस्तो सुझाव दिने निर्वाचन आयुक्त इला शर्माले बीबीसीलाई बताइन्।

भेटमा ती निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने क्षेत्र निर्धारण आयोगको कामको प्रगतिबारे पनि छलफल हुने बताइएको छ।

दुवै चुनाव एकै पटक गर्ने योजना कार्यान्वयनका लागि आवश्यक प्राविधिक तयारीका बारेमा पनि कुराकानी हुने अधिकारीहरुले जनाएका छन्।

समयसीमा

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव माघ ७ गतेभित्र गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ।

तर हिउँदमा हिमाली जिल्लामा चुनाव गराउन गाह्रो हुने भएकाले चुनावको मिति घोषणा गर्न हतार गर्नु पर्ने बेला हुन लागेको आयोगले जनाएको छ।

त्यसैले प्रधानमन्त्री देउवालाई सोमबार त्यसको निम्ति समयसीमा सहित आग्रह गरिने एकजना निर्वाचन आयुक्त ईला शर्माले बताइन्।

उनले भनिन्, "छिटो निर्वाचनको मिति तोक्न पर्यो, भदौको पहिलो हप्ताभन्दा ढिलो गर्न भएन। समय एकदमै कम हुँदै गइरहेको छ।"

प्रधानमन्त्रीसँग निर्वाचन क्षेत्र निर्धारण आयोगको कामको बारेमा पनि छलफल हुने शर्माले बताइन्।

सुस्त

करिब दुई साताअघि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँगको छलफलमा दुवै निर्वाचन एकै पटक गर्न सकिने सम्भावनाबारे जिज्ञासा राखेका थिए।

सरकारले त्यसो गर्न चाहेमा आवश्यक पर्ने प्राविधिक तयारीका बारेमा पनि छलफल गर्ने आयोगको तयारी छ।

आयुक्त शर्माले भनिन्, "दुवै निर्वाचन एकै पटक गर्ने, मतदानमा कागजको मतपत्र प्रयोग गर्नेकी विद्‌युतीय उपकरण प्रयोग गर्ने भन्ने विषयमा पनि छलफल गर्छौं।"

दुवै निर्वाचन एकै पटक गर्ने भनी प्रधानमन्त्रीले अघि सारेको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि समर्थन गरेको बताइएको छ।

आयोगले पनि केही प्राविधिक विषय मिलाएमा त्यसो गर्न सकिने जनाएको छ।

तर त्यसबारे आयोग र सरकारबीच ठोस कुरा अघि बढिसकेको देखिएको छैन।