सुनौली नाकामा भारतले किन गर्‍यो कडाइ?

  • 7 अगस्ट 2017
सुनौली नाका क्षेत्र

भारतीय सुरक्षा निकायले नेपाल र भारतको महत्वपूर्ण सीमा नाका सुनौलीमा सुरक्षा व्यवस्था कडा बनाएपछि आयात तथा निर्यात दुवै नराम्ररी प्रभावित भएको नेपाली अधिकारीहरुले बताएका छन्।

सो नाकामा करिब तीन साता देखि नेपालबाट भारत जाने यात्रीलाई समेत अलग अलग चेकजांच गर्न थालिएको छ भने ढुवानीका साधनको आवतजावत लगभग ठप्प जस्तै देखिन्छ।

कारण के?

भारतीय सशस्त्र सीमा बल एसएसवीले गरेको यस्तो प्रकारको कडा चेकजाँचकाबारेमा नेपाली पक्षले कुरा उठाउँदा सुरक्षाको कारण भनी उनीहरुले बताउने गरेको नेपाली अधिकारीहरुको जवाफ छ।

अहिले सो नाका हुँदै भारत जाने यात्रीहरु समेत लामो लाइनमा उभिनु पर्छ भने मालवाहक साधनको लाईन त चार, पाँच किलोमिटर वरैसम्म देखिन्छ।

वेल्हिया भन्सारका अधिकारीहरुका अनुसार नेपालमा सामान झारेर भारत तर्फ फिर्ता जान लागेका रित्ता ट्रक कन्टेनर तथा ग्यासका बुलेटहरु समेत चेकजाँचका लागि कम्तीमा आधा घण्टा त्यहाँ रोकिनु परेको छ भने यताबाट सामान लिएर गएका ढुवानीका साधन त त्यहाँबाट पास हुने संभावना साह्रै न्यून हुँदै गएको छ।

भन्सार कार्यालयले यो करिब एकसाताको अवधिमा नेपालबाट सो नाका हुँदै गरिने निर्यात लगभग ठप्प नै रहेको बताएको छ।

वेल्हिया भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले भने, "सुरक्षा कडा पारेपछि गाडीको आवतजावतमा समस्या उत्पन्न भएको छ।"

कुराकानी

यो समस्या सुल्झाउनका लागि नेपालको तर्फबाट भारतका सीमा क्षेत्रका अधिकारीहरुसंग कुराकानी हुँदै आएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

तर समस्या सुल्झाउने तर्फ भारतीय पक्षबाट खास चासो नदेखाइएको बताइन्छ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शंभु रेग्मी भन्छन्, "प्रमुख जिल्ला अधिकारीले भारतीय सो क्षेत्रका डिस्ट्रिक्ट म्याजिस्ट्रेटसंग कुरा गर्नुभएको छ। साथै एसएसबीका त्यहाँका प्रमुखसंग पनि फोनबाट कुरा भएको छ। उनीहरुले सुरक्षाकर्मीको संख्या बढाएर चेकजाँच सहज पार्ने भनेका छन्।"

नाकाबन्दीको सम्झना

अधिकारीहरुका अनुसार साउनको पहिलो साता देखि शुरु भएको पछिल्लो समस्या समाधानका लागि नेपालको तर्फबाट कुटनीतिक प्रयास पनि गरिंदै आएको छ।

यसबिचमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय तथा नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह सहित दुवै देशका सुरक्षा निकायका प्रमुखहरुबीच गत साता छलफल समेत भएको बताइन्छ।

उक्त छलफलपछि तीन चार दिन केही सहज देखिएको सो नाकामा गएको बुधबारदेखि फेरि उस्तै गरी कडाइ गरिएको छ।

अहिलेको स्थितिले कतिपयलाई दुई वर्ष अगाडीको नाकाबन्दीको समेत सम्झना गराएको छ।

त्यतिखेर शुरुमा जताततैको नाकामा निकै कडाइ भएपनि पछि सुनौलीमा चाहिं केही खुकुलो गरिएको थियो।

व्यापारको हिसाबमा सुनौली, वीरगञ्जपछि दोस्रो महत्वपूर्ण सीमा नाका हो। नाकाबन्दीले वीरगञ्ज सबभन्दा प्रभावित भएपछि सुनौलीमा आयातनिर्यात परिमाण बढिरहेको बताइएको थियो।