गरुडा घटना: ठेकेदार छाडिएकामा आक्रोश

  • 7 अगस्ट 2017
रौतहट गरुडामा शोकाकूल परिवार

चारजना बालिकाको डुबेर ज्यान गएको रौतहटको ‍एउटा सडकमा रहेको खाल्डोका लागि जिम्मेवार भनिएका ठेकेदारलाई प्रहरीले रिहा गरेको भन्दै मृतकका आफन्त र स्थानीयवासीले सोमबार चर्को विरोध गरेका छन्।

सडक कार्यालयको लापरवाहीले ती बालिकाको ज्यान गएको भनेर स्थानीयवासीले विरोध गरेपछि प्रहरीले शनिबार ठेकेदारलाई समातेको थियो।

रौतहट गरुडाका स्थानीयवासीले लापरबाही गर्नेलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग राखेका छन्।

शोकाकुल गरुडा: 'चुल्हो बलेन'

आश्वासन

स्थानीय प्रशासनले ठेकेदारलाई कारवाही र पीडितलाई उचित क्षतिपूर्तिको आश्वासन दिएपछि चारै जना बालिकाको दाहसंस्कार आइतबार दिउँसो गरिएको थियो।

तर सोमबार बिहानै प्रहरीले विना कारवाही ठेकेदारलाई छोडेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

एकजना स्थानीयवासी मनोज चौधरीले भने, "कुनै पनि कारवाही नगरिकनै त्यसरी छाड्नु दुखदायी हो। दोषीलाई कारवाहीको आश्वासन दिइएको थियो। तर कारवाही होला जस्तो देखिएन।"

घटनापछि सो सडक निर्माणको ठेक्का लिएका ठेकेदार प्रल्हाद साहलाई पक्राउ गरेको प्रहरीले सोमबारै किन उनलाई रिहा गरेको भनी सोध्दा रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले उनको रिहाइबारे आफुलाई कुनै जानकारी नभएको बताए।

जिम्मा

तर प्रहरीले भने घटना अनुसन्धानकै क्रममा रहेकाले ठेकेदार संघको जिम्मा लगाएर उनलाई छाडिएको र पछि जसको गल्ती देखिन्छ उसलाई पुन: पक्राउ गरिने प्रतिक्रिया दिएको छ।

रौतहटका प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले भने, "अनुसन्धानको लागि उनलाई सोधपूछ गरिएको हो। हामी प्रमाण जुटाउँदैछौं। गल्ती देखियो भने भोलि नै फेरि समातेर ल्याउन सकिन्छ।"

रौतहटको गरुडा नगरपालिकास्थित सडकको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार एकै परिवारका ४ बालिकाको मृत्यु भएको थियो।

मृत्युपछि उनीहरुको घरमा तीनदिनदेखी रुवाबासी चलेको छ भने पूरै गाउँ नै शोकमग्न अवस्थामा छ।