मलेसियामा ४ सयभन्दा धेरै विदेशी पक्राउ

  • 7 अगस्ट 2017
मलेसिया

दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा गरिएको एक प्रति आतंकवादी कारवाहीका कारण चार सय भन्दा बढी विदेशीहरु पक्राउ गरिएको बताइएको छ।

पक्राउ परेका मध्ये सबभन्दा धेरै बांग्लादेश, भारत र पाकिस्तानका नागरिक छन्।

मलेसियाली अधिकारीहरुले भनेका छन् - उनीहरुले यात्रा गर्नका लागि कागजात नबोकेका वा झुठो विवरणका कागजात भएका व्यक्तिहरुलाई निशानामा पारेका थिए।

साथै, सिरिया र ईराकका आंतकवादी संगठनहरुसँग आबद्ध भएका पनि निशानामा थिए।

पक्राउ गर्नका लागि एक अपार्टमेन्टमा प्रवेश गर्दा अधिकारीहरुले नक्कली राहदानी बनाउने उपकरण र मलेसियाली आप्रवासनका स्टीकरहरु फेला पारेका थिए।

मलेसियाली प्रहरीले छापा मार्ने क्रममा अन्तर्राष्ट्रिय आणविक उर्जा निकायले उपलब्ध गराएको रेडियोधर्मी सामाग्रीहरु पत्ता लगाउने उपकरणहरु पहिलोपटक पहिरिएको बताएको छ।

तर कारवाहीका क्रममा त्यस्ता रेडियोधर्मी वस्तु भने फेला परेका थिएनन्।