राप्रपा फुट: विरोधाभास र विरासतको खेल

  • 7 अगस्ट 2017
राप्रपा बैठक
Image caption स्थापनाको अढाइ दशकमा पटक-पटक फुट्दै-जुट्दै आएको राप्रपा पुन: विभाजित भएको छ (फाइल फोटो)

पूर्वपञ्चको बाहुल्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आएको फुट सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले अगुवाइ गरेको विगतको विभाजनको नयाँ संस्करण जस्तो देखिएको छ।

तर विगतदेखि फुट्दै/जुट्दै गरेको उक्त दलमा आएको पछिल्लो विखण्डन राजनीतिक रुपमा विरोधाभासपूर्ण लाग्दछ।

पूर्व प्रधानमन्त्रीद्वय थापा र चन्दको राजनीतिक विरासतको निरन्तरताको दुईवटा भंगालो बनाउने प्रयत्नको संकेत पनि पाइन्छ।

मूलधारको राप्रपा गणतन्त्र घोषणासँगै गणतन्त्रवादीमा रुपान्तरित भयो।

नवगणतन्त्रको आँगनमा कमल थापाहरुको सानो समूह भने धेरैले नपत्याएको र कठिन ठानेको राजतन्त्रको पुनर्स्थापनाको यात्रामा रह्यो।

दोस्रो संविधानसभा चुनावमा मूलधारको राप्रपाभन्दा राप्रपा नेपाल ठूलो दल बन्न पुग्यो।

सहजकर्ता चन्द

हिन्दु राष्ट्रको मुद्दामा एक ठाउँमा आएका ती दुईबीच राजतन्त्रको सवालमा विवाद थियो।

कमल थापालाई अध्यक्ष बनाएको एकता महाधिवेशनले पुरानो राप्रपा नेपालको 'लाइन' पछ्यायो।

तर चुनाव चिन्ह हलो कि गाई भन्ने विवाद बाँकी थियो।

ठूला नेताका सन्तानलाई व्यवस्थापन गरेर पार्टीभित्र हैकम चलाउने प्रवृत्ति भएको भनी आलोचित कमल थापाले बेहोरिरहेको उक्त चुनौती सुल्झाउन पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मध्यस्थता गरिरहेका थिए।

तर पशुपति शमशेर राणाले राप्रपा (प्रजातान्त्रिक) गठन गरी छाडे।

विरोधाभाषमा राजतन्त्र

उनलाई साथ दिनेमा पूर्व राप्रपा नेपालका सांसदहरु समेत छन्, जसले थापामाथि राजतन्त्रको मुद्दा छाडेको आरोप लगाउँथे।

सोमबार पत्रकार सम्मेलनमा अध्यक्ष राणाले राजतन्त्रबारे पार्टीमा फरक-फरक विचार रहेको बताउँदै बृहत् छलफलबाट त्यसको टुंगो लगाउने जनाएका थिए।

तर राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेका अनुसार निर्वाचन आयोगमा बुझाइएको पार्टी विधानमा संघीय लोकतान्त्रिक गणतन्त्र उल्लेख छ र पार्टीको राजनीतिक मार्गचित्र त्यही हुनेछ।

उनलाई साथ दिएका पूर्व राप्रपा नेपालका समानुपातिक सांसदहरु वर्तमान राजनीतिको एउटा मुख्य मुद्दा संविधान संशोधनको विपक्षमा थिए, जुन एमालेसँग मिल्दछ।

कमल थापा संशोधनको पक्षमा छन्। उनको मत विपरीत राणालाई साथ दिएका वरिष्ठ नेताहरु सरकारमा अहिलेकै अवस्थामा सहभागी हुने पक्षमा देखिन्छन्।

गणतन्त्रवादी पुरानो राप्रपाका पू्र्व नेता प्रकाशचन्द्र लोहनी एकता महाधिवेशनपछि अलग भइसकेका छन्।

कमल थापामाथि राजतन्त्रको मुद्दा तिलाञ्जली दिएको आरोप लगाउने केशरबहादुर विष्टहरु उनका प्रमुख सहारा बनेका छन्।

भारतसँग मेल

विरोधाभास छिमेकी भारतसँगको निकटतालाई लिएर पनि देखिन्छ।

भारत निकट भनिएका चतुर राजनीतिज्ञको पहिचान बनाएका सूर्यबहादुर थापाका छोरा सुनीलले राणालाई साथ दिएका छन्।

हिन्दुत्व र राजतन्त्रको मुद्दामा भारतीय सत्ताधारी भाजपासँग शुरुदेखि नै विचार मिल्ने पूर्व राप्रपा नेपालको नेतृत्व गरेका कमल थापा पक्ष लोकेन्द्रबहादुर चन्दको साथ पाउने आशामा छ।

चन्दले विगतमा सूर्यबहादुर थापालाई समानान्तर ध्रुवबाट चुनौती दिने गर्थे।

तर राजनीतिका बाह्रौँ खेलाडीको रुपमा कुनै बेला चर्चामा रहेका चन्दले बीबीसीसँग भने, "पार्टी एकता नहोस् भन्ने चाहना राखेको शक्ति सफल भयो, यो मेरो निम्ति दु:खद घटना हो, पछिको कुरा भन्न सक्दिन तर अहिले कतै लाग्ने मनस्थिति बनाएको छैन।"

विरासत

अन्तत: चन्दको साथ उसबेला आफ्नो सरकार ढालेर सूर्यबहादुर थापालाई सघाउँदा आफूले 'मुसा प्रवृत्ति' भनीकटाक्ष गरेका नेता कमल थापाले पाउने ठानिएको छ।

पूर्व प्रधानमन्त्री चन्दका छोरा महामन्त्री जयन्तले कमल थापालाई साथ दिएका छन्।

सोमबार पत्रकार सम्मेलनमा राखिएको 'ब्यानर'मा राणासँगै अर्कोतर्फ सूर्यबहादुर थापाको तस्बिर थियो।

थापाका छोरा--अर्का महामन्त्री सुनील अध्यक्ष राणाका भरोसा बनेका छन्। राणाले आफूलाई नबोलाएको र थापाले बोलाउँदा 'त्यस दिन आउन नसक्ने' बताएको चन्दले जानकारी दिए।

दुई ध्रुव

नेपालको मूलधारको राजनीतिमा सिमानामा भारतीय अवरोधपछि 'भारतपरस्त' र 'राष्ट्रवादी' दुई ध्रुव निकै चर्चामा छ।

विपक्षी एमालेले 'राष्ट्रवादी' धार र कांग्रेससहितका दलले 'भारत निकट शक्ति' को अगुवाइ गरिरहेको ठानिएको परिदृश्यमा विखण्डित राप्रपा पनि दुई ध्रुवमा विभक्त देखिन्छ।

थापा नेतृत्वको राप्रपा संशोधनबाहेकको मुद्दामा नेकपा एमाले र राणाको दल कांग्रेसनिकट राजनीतिक धारमा अग्रसर हुने विश्लेषण गरिएको छ।

ठीक यस्तै परिस्थितिको अगुवाइ दुई दशकअघिको अस्थिर संसदीय राजनीतिमा चन्द र सूर्यबहादुर थापाले गरेका थिए।

उसबेला एमालेको समर्थनमा चन्द र कांग्रेसको समर्थनमा थापा प्रधानमन्त्री बनेका थिए।