भेनेजुएलालाई बल प्रयोग नगर्न आह्वान

  • 8 अगस्ट 2017
सुरक्षा फौज तस्वीर कपीराइट AFP

भेनेजुएलाको सरकारले विपक्षीविरुद्ध हिंसात्मक रुपमा छापा मार्नुका साथै धेरैलाई यातना दिएको र क्रुर व्यवहार गरेको संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले बताएको छ।

प्रदर्शनसंग सम्बन्धित हिंसामा सुरक्षा फौजको हातबाट कम्तिमा ४६ जना मारिएको राष्ट्रसंघले बताएको छ।

अन्तर्वार्ताहरुको आधारमा राष्ट्रसंघले त्यस्तो निश्कर्ष निकालेको हो।

सुरक्षा फौजले बिना चेतावनी अश्रु ग्यास र गोली प्रहार गरेको प्रत्यक्षदर्शीले राष्ट्रसंघलाई बताएका छन्।

टाढाबाट अन्तर्वार्ता

भेनेजुएला आउने अनुरोधबारे त्यहाँका अधिकारीहरुले उत्तर नदिएपछि राष्ट्रसंघले टाढैबाट अन्तर्वार्ता गरेको बताइएको छ।

मंगलबार जारी गरिएको एउटा वक्तव्यमा राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त जेइद राद अल हुसेनले टाढैबाट भेनेजुएलामा मानव अधिकारको स्थितिको नियमन गर्न अधिकारीहरुलाई खटाएको बताइएको छ।

अप्रिल महिनामा प्रदर्शनहरु शुरु भएपछि अत्यधिक बल प्रयोगको प्रवृत्ती देखिएको, हजारौं मानिसलाई मनलाग्दो रुपमा गिरफ्तार गरिएको, थुप्रैमाथि यातना लगायतको खराब व्यवहार गरिएको र सयौंलाई सामान्य अदालतको सट्टामा सैनिक अदालत लगिएको हुसेनले बताएका छन्।

सुरक्षा अधिकारीमाथि पनि आक्रमण गरिएको खबर पाएको भन्दै केही प्रदर्शनकारी पनि हिंसामा उत्रिएको हुसेनले औंल्याएका छन्।

गिरफ्तारी

राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक भएलगत्तै भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी दलका नेता रामोन मुचाचोलाई गिरफ्तार गर्ने आदेश दिएको छ।

अदालतले उनलाई १५ महिनाको जेल सजाय सुनाएको छ।

सरकार विरोधी प्रदर्शनका क्रममा मेयर मुचाचोले प्रदर्शनकारीहरुलाई सडकमा अवरोध खडा गर्नबाट रोक्न नसकेको अदालतले बताएको छ।

गत मे महिनाको २४ तारिखमा सर्वोच्च अदालतले मुचाचो र सात जना अरु मेयरलाई त्यस्ता अवरोध खडा गर्न नदिन आदेश दिएको थियो।

मुचाचो बाहेक तीन जना अरु मेयरलाई पनि त्यही अपराधमा दोषी पाइएको छ।