मेलम्चीको पानी छिटो ल्याउन निर्देशन

  • 9 अगस्ट 2017
प्रधानमन्त्री शेरबहादुर देउवा तस्वीर कपीराइट PMO Nepal

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्दै चाँडो सक्न निर्देशन दिएका छन्।

तर उनी निरीक्षण गर्न पुग्दा आयोजनाको निर्माण विवादका कारण गम्भीर रुपमा प्रभावित भइरहेको बताइएको छ।

नेपाली निर्माण व्यवसायी कम्पनी र विदेशी ठेकेदार कम्पनी बिच पैसाको विवादका कारण केही दिन यता काम रोकिएको छ।

आज भएको प्रधानमन्त्रीको भ्रमण पछि पनि यो विवाद सुल्झिएको छैन।

निर्देशन

हेलिकप्टरमा बुधबार आयोजना स्थल पुगेका प्रधानमन्त्रीले बाँध र सुरुङ्गको अवलोकन गरे।

अनि, आयोजना सक्दो चाँडो सम्पन्न गर्न पनि परम्परागत शैलीमै निर्देशन दिए।

उनले भने, "छिटोभन्दा छिटो यो (पानी) आउनु पर्‍यो। के-के सहयोग चाहियो त्यो पूरा गर्न सरकार तयार छ।"

विवाद

तर उनी त्यहाँ पुग्दा आयोजनाको इटालेली ठेकेदार कम्पनी सीएमसी र नेपाली निर्माण व्यवसायीबीच रकम भुक्तानी विवादका कारण काम चुस्त रुपमा चल्नसकेको थिएन।

गत शुक्रबार देखि यी दुई बीच विवाद चलिरहेको छ र यो विवाद समाधान गर्न बुधबार हुने भनिएको वार्ता हुन नसकेको आयोजनाले बताएको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, "एक दुई दिन अघि पनि हामी छलफलमा बसेका थियौं। बिहीबार पनि खानेपानी तथा सरसफाई मन्त्रीकै उपस्थितिमा बैठक बस्छौं र यो विषयलाई टुङ्ग्याउने प्रयास गर्छौं।"

देवकोटाका अनुसार २५ किलोमिटरभन्दा बढी सुरुङ्ग खनिसकिएको छ भने थप साढे दुई किमी सुरुङ्ग खन्न बाँकी छ।

शंका

सुरुङ्ग निर्माणका लागिमात्रै हालसम्म २० अर्ब रुपैयाँ खर्च भइसकेको बताइएको छ र अझै दुई अर्ब रुपैयाँ जति लाग्ने बताइएको छ।

दशैं अघिसम्म आयोजना निर्माण सकिसक्ने सरकारको योजना भएपनि बारम्बारको ढिलाईले यो आयोजनाबारे मानिसहरुमा प्रशस्त शंका देखिन्छ।

दैनिक करिब १७ करोड लिटर थप पानी काठमाण्डूमा वितरण गर्ने लक्ष्य उक्त आयोजनाको छ।

पहिलो चरण सम्पन्न भएपछि दोस्रो चरणमा उक्त परिमाण दोब्बर बढाउने योजना पनि रहेको छ।