केन्यामा ओडिंगालाई विजयी घोषणा गर्न माग

  • 10 अगस्ट 2017
केन्या चुनाव तस्वीर कपीराइट AFP

राइला ओडिंगा नेतृत्वको गठबन्धनका प्रवक्ताले गोप्य आँकडाहरु उद्धृत गर्दै वर्तमान राष्ट्रपति उहुरु केन्याटा भन्दा उनले दश लाख बढी मत प्राप्त गरेको देखाएको बताएका छन्।

यसअघि केन्याको निर्वाचन आयोगले उसको कम्प्युटर प्रणाली ह्याक गर्ने प्रयास भएको भएपनि त्यसले मतपरिणाम प्रभावित पार्न भने नसकेको जनाएको थियो।

प्रारम्भिक मतपरिणाममा वर्तमान राष्ट्रपति उहुरु केन्याटा निकै अगाडि देखिन्छन्।

'विश्वसनीय'

अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकहरुले चुनाव पारदर्शी र विश्वसनीय रुपमा गरिएको जनाएका छन्।

पूर्व अमेरिकी विदेशमन्त्री जन केरीले निर्वाचन प्रक्रियाको विश्वसनीयता कायम रहेको बताए।

उनले सबै पक्षलाई अन्तिम परिणाम पर्खन अनि पराजितले हार स्वीकार्न भनेका छन्।

प्रजातान्त्रिक प्रतिष्पर्धामा पराजित हुनु प्राकृतिक भएको भन्दै युरोपेली संघले उम्मेदवारहरुले हार स्वीकार्नु पर्ने भनेको छ।

तर ओडिंगाले निर्वाचन आयोगको कम्प्युटर प्रणाली ह्याक गरिएको र केन्या इतिहासमै सबैभन्दा खराब मतदाता चोरीको घटनाको साक्षी बनेको बताए।