सप्तरीमा फेरि बाढी: 'राजविराज जोखिममा'

  • 10 अगस्ट 2017
बाढी

सप्तरी जिल्लास्थित खाँडो नदीमा फेरि आएको बाढीका कारण सदरमुकाम राजविराज नगरपालिका लगायत केही गाउँ जोखिममा परेका अधिकारीहरुले जनाएका छन्।

केही साताअघि आएको बाढीले तिलाठी लगायतका गाउँमा दर्जनौँ घरहरु जलमग्न भएका थिए।

तर यस पटक नदीको बहाउ फेरिने क्रममा छ।

तटबन्ध भत्किए राजविराज नगरपालिका लगायत केही गाउँहरु डुबानमा पर्ने बताइन्छ।

सप्तरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने, "सम्भावित क्षति रोक्न सबै सुरक्षा अंगलाई सतर्क बनाइएको छ।"

धानबाली

बाढीले राजविराज नगरपालिकाको वडा नम्बर १५ देउरी भरुवा लगायतका गाउँहरुमा २ सय बिघाभन्दा बढी जग्गामा रोपिएको धानमा क्षति पुगेको पीडित किसानले जनाएका छन।

स्थानिय वासिन्दा मनोज यादवले भने, "धानबाली निकै नष्ट भयो। तटबन्ध भत्कियो भने त हाम्रो खेती बर्बाद हुन्छ।"

तटबन्ध जोगाउन नदिन सुरक्षाकर्मी र स्थानीय वासिन्दाले प्रयास गरिरहेका छन्।

नेपाली सेना, प्रहरीको टोलीसँगै तटबन्ध जोगाउन सक्रिय स्थानीय ५० वर्षिय डोमी यादवको मृत्यु भएको बताइएको छ।

माटोको ढिस्कोमा पुरिएर उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।