खुल्ला व्यापार क्षेत्र यथाशिघ्र: बिमस्टेक

  • 11 अगस्ट 2017
बिमस्टेक

राजधानीमा शुक्रबार सम्पन्न भएको बिमस्टेकको १५ ‌औं मन्त्रिस्तरीय बैठकले सदस्य राष्ट्रहरुमाझ खुल्ला व्यापार प्रवर्धन गर्ने र विद्युत ग्रिड यथाशिघ्र जोड्ने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दक्षिण तथा दक्षिण पूर्वी एसियाका सातवटा देश सम्मिलित बिमस्टेको उक्त बैठकमा यसअघि भएका सम्झौता छिट्टै कार्यान्वयन गर्ने विषयमा सहमति भएको छ।

जसमध्ये सदस्य राष्ट्रबीच विद्युतिय ग्रीड जोड्नका लागि नेपालले आयोजना गर्ने उर्जा मन्त्रिस्तरिय बैठकमा सम्झौता हुने निर्णय भएको परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईले बताए।

"विद्युतीय ग्रीड जोड्ने बारेको स्मृतिपत्र सबै राष्ट्रले हस्ताक्षर गर्ने अवस्थामा पुगेको छ," भट्टराईले भने।

व्यापार सम्झौता

सदस्य राष्ट्रहरुबीच खुल्ला व्यापार प्रवर्द्धन गर्ने उद्देश्यका साथ तयार गरिएको बिमस्टेक खुल्ला व्यापार सम्झौतामा पनि यथाशीघ्र हस्ताक्षर गर्ने निर्णय बैठकले गरेको छ।

तर कतिपय जानकारले भने खुल्ला व्यापार सम्बन्धी बिमस्टेक खाका सम्झौता एक दशक अगाडि नै तयार भएर पनि हस्ताक्षर हुन बाँकी हुनु दुखद भएको बताए।

पूर्व वाणिज्य सचिव पुर्षोत्तम ओझाले भने, "सेवा व्यापार, वस्तु व्यापार र लगानी प्रवर्द्धनका लागि सन् २००४ मा खाका सम्झौता तयार भएको थियो। तर त्यो सम्झौता अहिले सम्म कार्यान्वयनमा आउन सकेको छैन। त्यसैले मैले बिमस्टेकको एउटा राजनीतिक मञ्चबाहेक सारभूत रुपमा अहिलेसम्म केही उपादेयता देख्न सकेको छैन।"

सार्क क्षेत्रका लागि खुला व्यापारको सम्झौता साफ्टाबाट पनि नेपालले खासै फाइदा लिन नसकेको ओझाले बताए।

बिमस्टेकको शिखर सम्मेलनको मिति भने तय भएको छैन।

अध्यक्ष राष्ट्र नेपालले संविधान कार्यान्वयन गर्नका लागि सम्पन्न गर्नु पर्ने चुनाव भइसकेपछि मात्र मिति तोक्नका लागि अन्य राष्ट्रसंग परामर्श गर्ने बताएको छ।