उत्तर कोरियालाई ट्रम्पको नयाँ धम्की

  • 11 अगस्ट 2017
ट्रम्प तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरिया विरुद्धको चर्का अभिव्यक्ति जारी राख्दै प्योङयाङले गलत कदम चालेमा सैनिक समाधानको बाटो तयार रहेको चेतावनी दिएका छन्।

उत्तर कोरियाले उनीमाथि कोरियाली प्रायःद्वीपलाई परमाणु युद्धको नजिक पुर्‍याएको आरोप लगाएपछि उनले त्यस्तो ट्वीट गरेका हुन्।

प्योङयाङले अमेरिकी क्षेत्र गुआम नजिकै क्षेप्यास्त्र प्रहार गर्ने योजनाको घोषणा गरेको छ।

प्रशान्त महासागरस्थित सो टापुको आन्तरिक सुरक्षा निकायले शुक्रबार स्थानीयबासीलाई क्षेप्यास्त्र हमलाको जोखिमका लागि तयार रहने सल्लाह दिँदै एउटा सूचनापत्र जारी गरेको थियो।

चिन्ता

वाशिंटन र प्योङयाङले एक अर्कालाई दिएको धम्कीले आफूलाई निकै चिन्तित बनाएको मस्कोले बताएको छ।

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले युद्धको सम्भावनालाई 'अति उच्च' भन्दै संकटको समाधान गर्ने रुस र चीनको संयुक्त योजना अघि सारेका छन्।

यसै हप्ता केही दिन अघि ट्रम्पले प्योङयाङमाथि उनकै शब्दमा आगो र आक्रोश बर्साउने धम्की दिएका थिए।

तर आफू वार्ताका लागि सधैं तयार रहेको पनि उनले बताएका थिए।

विदेशमन्त्री जिम म्याटिसले संकटको शान्तिपूर्ण समाधान खोज्ने भन्दै तनाव घटाउने प्रयास गरेको केही घण्टाभित्रै ट्रम्पले अर्को धम्की दिएका हुन्।

आक्रोश

उत्तर कोरियाले गत जुलाइ महिनामा दुईवटा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि तनाव बढेको हो।

गत हप्ता संयुक्त राष्ट्रसंघले उसमाथि लगाएका आर्थिक प्रतिबन्ध बढाउने निर्णय गरेपछि उत्तर कोरिया झन् बढी आक्रोशित बनेको छ।

उत्तर कोरियाले केही दिन भित्रैमा मध्यम र लामो दूरीका क्षेप्यास्त्र गुआममाथि प्रहार गर्ने योजना बनाउने बताएको छ।

धम्की

गुआममा अमेरिकी सैनिक तथा १ लाख ६० हजार भन्दा बढी अमेरिकी नागरिक रहेका छन्।

तर त्यस्तो आक्रमण हुन लागेको छ भन्ने अरु कुनै संकेत देखिएको छैन।

चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गरेमा चीन तटस्थ रहनुपर्ने तर अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियालाई सरकार परिवर्तन गर्न बाध्य गरेमा चीनले हस्तक्षेप गर्नुपर्ने सल्लाह दिएको छ।