उद्धार-राहतमा मौसमी प्रतिकूलता: गृहमन्त्री

  • 12 अगस्ट 2017
प्रधानमन्त्रीको बैठक तस्वीर कपीराइट pm secretariat

देशका विभिन्न ठाउँमा परेको भारी वर्षापछिको बाढी, पहिरो र डुबानका कारण जोखिममा परेका मानिसको उद्धार तथा राहत वितरणमा प्रतिकूल मौसमका कारण कठिनाइ उत्पन्न भएको गृहमन्त्रीले जनाएका छन्।

गृह मन्त्रालयका अनुसार शुक्रबार साँझदेखिको अविरल वर्षाका कारण २४ घण्टामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ।

हेलिकोप्टर अवतरण हुन नसकेको, बाटो अवरुद्ध रहेको र टेलिकमका टावरसमेत डुबानमा परेकाले प्रतिकूलता थपिएको बताईएको छ।

वर्षाका कारण जनधनको व्यापक क्षतिको खबर आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दुई पटक सम्बन्धित अधिकारीसँग आपतकालीन बैठक गरेर उद्धार र राहत तीव्र बनाउन निर्देशन दिएका थिए।

बैठकपछि जारी गरिएको उनको संक्षिप्त भिडिओ सम्बोधनमा भनिएको छ, "मैले बाढी र पहिरोको चपेटामा परेकाहरुलाई उद्धार, स्थानान्तर र राहत उपलब्ध गराउन स्थानीय प्रशासन लगायत र सरकारका सम्पूर्ण निकाय परिचालन गर्न निर्देशन दिएको छु।"

अभाव

उनले सबै सुरक्षा निकाय प्रभावित क्षेत्रमा खटिएको बताउँदै उद्धार र राहतका निम्ति सबै दललाई एकजुट हुन आग्रह गरेका छन्।

सबै सुरक्षा अंगका प्रमुख सहित भएको साँझको बैठकमा सहभागी गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि साधन स्रोतको अभाव रहेको बीबीसीलाई बताए।

गृहमन्त्री शर्माका अनुसार केन्द्रबाट मौसमको प्रतिकूलताका कारण प्रभावित क्षेत्रमा जनशक्ति र सामग्री पठाउन नसकिएको बताए।

उनले भने, ''प्रभावित क्षेत्रमा साधन-स्रोतको अपर्याप्त रहे पनि विराटनगरको विमानस्थल समेत डुबेको, हेलिकोप्टर उड्न नसके लगायतका कारण केन्द्रबाट सहयोग पठाउन समस्या भएको छ। तर पनि उद्धार कार्य र जोखिममा परेकोलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।''

बाढी र पहिरोका कारण प्रमुख राजमार्गका कतिपय खण्ड भत्किएका छन्।

दशौं हजार

केही ठाउँमा बिजुली तथा टेलिफोन सेवा अवरुद्ध भएका छन् भने कैयौं बस्तीमा पानी पसेको छ।

विस्थापित र डुबानमा फसेकाको संख्या दशौं हजार हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

गृह मन्त्रालयले जोखिममा रहेकालाई सतर्क रहन आग्रह गर्दै उद्धारमा सरकारी एवं गैरसरकारी निकाय तथा नागरिकलाई सक्रिय हुन अपिल गरेको छ।

पूर्वी तराई र मध्य पहाडी जिल्ला बढी प्रभावित भएको बताईएको छ।

डुबानको जोखिम न्यून पार्न सीमावर्ती क्षेत्रका कतिपय ब्यारेजका ढोका खोल्न सरकारले भारतलाई आग्रह गरेको छ।

सुधार

चुरे र पहाडी क्षेत्रमा बाक्लो बादल र वर्षा केन्द्रीत रहेको जनाउँदै सोमबारबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका एकजना मौसमविद् सुवास रिमालले भने, ''पूर्वमा भइरहेको ठूलो वर्षा आइतबार विहानबाट कम हुने देखिन्छ। त्यसपछि मध्य र पश्चिमका तराई क्षेत्रमा वर्षा केन्द्रीत हुनेछ। सोमबार मौसममा त्यस क्षेत्रको मौसममा सुधार आउने अनुमान छ।''

महाशाखाका अनुसार बाराको सिमरामा सबैभन्दा बढी पानी परेको छ।

वर्षाका कारण अधिकांश नदीमा पानीले खतराको तह नाघेको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।