'उद्धारकर्तासँग पर्याप्त उपकरण छैन'

  • 13 अगस्ट 2017
जलमग्न
Image caption चितवनका विभिन्न भूभाग जलमग्न भएका छन्

शुक्रबारदेखि अविरल परेको झरीले तराइ र मध्य पहाडी क्षेत्रका कैयौं क्षेत्र जलमग्न भएका छन्।

ती ठाउँहरुमा उद्धारकर्ता पुग्न नसकेको र पुगेकाहरुसँग उद्धार सामग्री नभएको हाम्रा संवाददाताहरुले बताएका छन्।

कैयौं अस्पताल र विद्यालयहरु डुबेको बताइएको छ।

पुल, पुलेसा र राजमार्गपनि जलमग्न भएकाले यातायात चल्न सकेको छैन।

विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ।

हजारौं मानिसहरु उद्धारको पर्खाइमा रहेको डुबान प्रभावित क्षेत्रमा रहेका हाम्रा संवाददाताहरुले बताएका छन्।

प्रस्तुत छ विभिन्न ठाउँबाट हाम्रा संवाददाताले पठाएको पछिल्लो विवरण:

  • धरानबाट सिता मादेम्बाले जनाए अनुसार धरान नगरपालिका बाहेक सुनसरीको सबै भाग डुबानमा परेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीका अनुसार सुनसरीमा बाढी र डुबानका कारण आठ जनाको ज्यान गएको छ।

शनिबार दिनभर अवरुद्ध जस्तै रहेको टेलिफोन सेवा आइतबार पनि आउने जाने भइरहेको छ।

  • नारायणगढबाट इश्वर जोशीले जनाए अनुसार चितवनमा पनि अधिकांश स्थानमा डुबान भएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई उदृत गर्दै जोशी भन्छन्, "मेघौली, जगतपुर र सौराहा विशेष रुपमा प्रभावित छन्"। राजमार्गका कैयौं भाग पानीले डुबाएको बताइएको छ।

पर्यटकीय स्थल सौराहामा पनि होटलहरुमा समेत बाढी पसेको बताइएको छ।

त्यहाँ करिब पाँच सय पर्यटक रहेको र ती मध्ये आधाजसो विदेशी पर्यटक रहेको बताइएको छ।

सौराहामा उद्धार टोली जान सकेको छैन।

उद्धारमा गएकाहरुसँग उपकरण अभाव भएको बताइएको छ।

र्याफ्टिङ बोट नभएकाले मानिसहरु फँसेको देखेर पनि उद्धारकर्मी पर्यवेक्षकमा सीमित भएको हाम्रा संवाददाताले बताएका छन्।

  • मध्यपश्चिमस्थित दाङबाट बसुन्धरा गौतमले जनाए अनुसार दुईजनाको ज्यान गएको र ७८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्।

२५० घर डुबानमा परेको र ४२९ विस्थापित भएको बताइएको छ।

राजमार्ग, बाटोघाटो सर्वत्र डुबान भएकाले यातायात ठप्प रहेको बताइएको छ।

  • झापाबाट उमाकान्त खनालका अनुसार दमकस्थित विमानस्थल समेत जलमग्न छ।
  • विराटनगरको विमानस्थल पनि जलमग्न रहेको छ।

हाम्रा संवाददाता विक्रम निरौला भन्छन्, "घरभित्रै बाढी पसेको छ। बाहिर जानसक्ने स्थिति छैन। टेलिफोन पनि घरि आउने घरि नआउने गरिरहेको छ।"

  • जनकपुरबाट बृजकुमार यादवले जनकपुर बजारका घरहरुमा बाढी पसेपछि मानिसहरु माथिल्ला तलाहरुमा बसिरहेको बताएका छन्।
  • बीरगञ्जबाट माधुरी महतोले जनाए अनुसार बीरगञ्ज नगरपालिकामा यातायात अवरुद्ध भैसकेको छैन तर बीरगञ्जबाहिर जलमग्न छ।

पर्सा जिल्लाको अधिकांश भाग जलमग्न छ।

प्रहरी बीटहरुमा पानी पसेर प्रहरीहरु पनि विस्थापित भएका छन्।

सर्वसाधारण र प्रहरी सबै पक्की घरका छतमा मौसम सुधार र राहतको पर्खाइमा बसेका छन्।