बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ६९

  • 13 अगस्ट 2017
बाढी

बाढीपहिरोका कारण पछिल्लो दुई दिनयता ज्यान गुमाउने मानिसहरुको संख्या ६९ पुगेको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

सो मन्त्रालयका अनुसार २१ जिल्ला बाढीपहिरोबाट बढी प्रभावित भएका छन्।

विभिन्न जिल्लाका खोला तथा नदीहरुको पानी मानवबस्तीमा पस्दा बस्तीहरु डुबानमा परेको खबरहरु प्राप्त भएका छन्।

अविरल वर्षापछि तराईका जिल्लाहरुमा आएको बाढी तथा पहाडी भेगमा आएका पहिरोका कारण भएका मानवीय तथा भौतिक क्षतिबारेका थप विवरण आउने क्रम जारी रहेको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

सुनसरीमा बढी क्षति

प्रभावित जिल्लाहरुबाट प्राप्त पछिल्लो विवरण अनुसार ६९ जनाको ज्यान गएको गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले बताए।

विभिन्न जिल्लामा भएका मानवीय क्षतिबारे उनले भने, "पाँचथरमा दुईजना, झापामा चार, मोरङमा ६, सुनसरीमा आठ, इलाममा एक, सिन्धुलीमा चार, सर्लाहीमा तीन, बारामा दुई, धनुषामा एक, चितवनमा दुई, मकवानपुरमा तीन, महोतरीमा एक, पाल्पामा एक, बागलुङमा दुई, कपिलवस्तुमा एक, दाङमा तीन, बाँकेमा तीन, बर्दियामा एक, हुम्लामा एक र सुर्खेतमा तीनजनाको ज्यान गएको छ।"

गृह मन्त्रालयका अनुसार बाढीपहिरोमा परी २८ जना गम्भीर घाइते भएका छन्। त्यसैगरी ५० जना बेपत्ता भएको सो मन्त्रालयले जनाएको छ।

बेपत्ताहरुको खोजी प्रयासबारे फेरि गृह मन्त्रालयका सचिव रेग्मीले थपे, "सरकारी संयन्त्रहरु लगाएर हराइरहेका मानिसहरुको खोजी कार्य तीव्र रुपमा भइरहेको छ। सेना, प्रहरी तथा स्थानीयवासीहरुसहित एकीकृत रुपमा खोजी कार्य भइरहेको छ।"

परिचालन

बाढीका कारण तराईका अधिकांश जिल्ला डुबानमा परेको बताइएको छ।

पीडितहरुले राहत तथा उद्धार कार्यप्रति असन्तुष्टि व्यक्त गरिरहँदा राष्ट्रिय मानवअधिकार आयोगले सरकार, सुरक्षा निकाय एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई प्रभावितहरुको उद्धार तथा राहत कार्यमा तत्काल जुट्न आग्रह गरेको छ।

उसले बाढीपहिरोपछि हुनसक्ने विभिन्न सरुवा रोगको सम्भावनालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टोली परिचालन गर्नुपर्ने आवश्यकता समेत औंल्याएको छ।

बाढीका कारण बिरामी हुने मानिसहरुलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले कर्मचारीहरुलाई बिदा नबस्न निर्देशन दिएको बताइएको छ।