डा. केसीको स्वास्थ्य स्थिति ‘गम्भीर’

  • 14 अगस्ट 2017
अनशन

विगत २२ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर हुँदै गएको चिकित्सकहरुले बताएका छन्।

उनलाई सलाइन दिन नशामा खोलिएको क्यान्नुलामा संक्रमण भएको चिकित्सकहरुले बताएका छन्।

यदि यो संक्रमण रगतसम्म फैलिए उनको शरीरको कुनै पनि महत्त्वपूर्ण अंग खराब हुनसक्ने सम्भावना बढेको चिकित्सकहरुले बताएका छन्।

सरकारी प्रतिनिधिले डा. केसीका माग पूरा गर्न आनाकानी गरिरहेको उनका प्रतिनिधिहरुले गुनासो गरेका छन्।

संक्रमण

लामो समयदेखि अनशन बसेका डा. केसीको शरीरमा रगतमा हुने श्वेत कोषिकाको संख्या निकै घटेको बताइएको छ।

त्यसले उनको शरीरमा रोग वा अन्य कुनै संक्रमणबाट बच्ने क्षमता कम हुँदै गएको चिकित्सकहरुले बताएका छन्।

साथै उनको शरीरमा नुन र अक्सिजनको पनि कमी हुँदै गएको छ।

जसले गर्दा उनको मुटुमा असरपर्ने सम्भावना पनि उत्तिकै बढेको बताइएको छ।

डा. केसीको स्वास्थ्यमा देखिएका अन्य जटिलताबारे डा. सन्तोष क्षेत्रीले भने, "सलाइन दिन दुवै हातको नशामा खोलिएको क्यान्नुलामा संक्रमण भएको छ। सलाइन दिएको ठाउँको संक्रमण रगतमा फैलियो भने त्यसले ज्यानको जोखिम अथवा मृगौला वा अन्य कुनै पनि अंगलाई फेरि सन्चो नहुने गरी खराब सम्भावना बढ्दै गएको छ।"

गुनासो

डा. केसी अनशन बसेको चौथो दिनमै सरकारले वार्ता टोली गठन गरेको हो र त्यसयता दुई पक्षबीच आठपटक वार्ता भएको छ।

तर सरकारी वार्ता टोलीले डा. केसीका मागलाई गम्भीरतापूर्वक नलिएको उनका प्रतिनिधिले गुनासो गरेका छन्।

डा. केसीको वार्ता टोलीका एक सदस्य डा. अभिषेकराज सिंहले भने, "चिकित्सा शिक्षा विधेयकको बारेमा राजनीतिक तवरले सबैतिरबाट आ-आफ्नो पहुँचले छलफल जारी छ। त्यो बाहेक अन्य विषयमा सरकारी टोली केही छलफल गर्नै चाहँदैन।"

राजनीतिक मुद्दा बनेको चिकित्सा शिक्षा विधेयक बाहेक डा. केसीले चिकित्सा शिक्षा अध्ययन संस्थाको सहायक डिन तोक्ने, त्रिभुवन विश्वविद्यालयले सो संस्थाको क्षेत्राधिकारमा गरेका हस्तक्षेप अन्त्य गर्ने र चिकित्सा शिक्षाको विभिन्न तहको शुल्क निर्धारण गर्ने जस्ता माग पनि डा. केसीले राखेका छन्।

तर यी माग पनि सम्बोधन हुन सकेका छैनन्।

यसैबीच संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले मंगलवार चिकित्सा शिक्षा विधेयक संसद्‍मा दर्ता गर्ने बताएको छ।

विधेयक

समितिले पारित गरेको विधेयकमा आउने १० वर्षसम्म काठमाण्डू उपत्यकामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने र एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी मेडिकल कलेज सञ्चालन गर्न नपाइने जस्ता प्रमुख माग नपरेको भन्दै डा. केसी अनशन तोड्न तयार नभएका हुन्।

तर समिति अध्यक्ष रञ्जु झा भने डा. केसीकै माग अनुसार विधेयक समितिले पारित भएको बताउँछिन्।

समितिकी अध्यक्ष रञ्जु झाले भनिन्, "उहाँको हठ अनुसार हामीले विधेयक पास गर्‍यौँ र विज्ञहरुको पनि राय सुझाव लिएकै छौँ।"

डा. केसीको यो ११ ‍औं अनशन हो।

यसअघिको अनशन २२ दिनमा तोडिएको थियो।