अमेरिकासँगको सम्बन्ध बिग्रिन सक्छः चीन

  • 15 अगस्ट 2017
चीन

चीनले अमेरिकी बौद्धिक सम्पत्तिहरुको बेइजिङबाट भएको भनिएको चोरीबारे समीक्षा गर्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको आदेशले दुई देशबीचको सम्बन्धमा असर गर्ने बताएको छ।

ट्रम्पले एउटा प्रक्रिया शुरु गरिसकेका छन् जसले अर्को वर्षसम्ममा प्रतिबन्ध लगाउन वा कर लगाउन उनलाई अधिकार दिनेछ।

अमेरिकी कदमले विवादहरु सुल्झाउने बहुपक्षीय पहुँचमा आधारित विश्व व्यापार संगठनका नियमहरुको मर्मको उल्लंघन हुने चीनले बताएको छ।

अमेरिकी कम्पनीहरुलाई चीनका स्थानीय साझेदारहरुसँग व्यवसायिक साझेदारी गर्न बाध्य बनाएर बेइजिङले अमेरिकी बौद्धिक सम्पत्ति चोरी गर्ने गरेको आरोप अमेरिकाले लामो समयदेखि लगाउँदै आएको छ।

प्रतिबन्धको बाटो?

ट्रम्पले व्यापारसम्बन्धी उच्च अमेरिकी अधिकारीलाई बौद्धिक सम्पत्तिसम्बन्धी चिनियाँ अभ्यासहरुको समीक्षा गर्न भनेका छन्।

उक्त कदम ठूलो भएको र त्यसले अमेरिकालाई व्यापार प्रतिबन्धहरु लगाउनतर्फ मोड्न सक्नेछ।

उत्तर कोरियासँगको सम्बन्धलाई लिएर 'पहिले अमेरिका' भन्ने आफ्नो व्यापार अवधारणाका साथ राष्ट्रपति ट्रम्प चीनसँगका व्यावसायिक कामहरुमा सन्तुलन ल्याउन प्रयासरत छन्।

अनुसन्धानका कारण प्रतिबन्धहरु लागेमा आफू चुप नबस्ने बेइजिङले चेतावनी दिएको छ ।

अनुसन्धानसम्बन्धी आदेशमा हस्ताक्षर गर्न राष्ट्रपति ट्रम्प वासिङ्गटन फर्किएका छन्।

सो आदेशले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरलाई धारा ३०१ सँग सम्बन्धित अनुसन्धान गर्ने कि नगर्ने भन्ने विषयमा थप अध्ययन गर्ने अनुमति दिनेछ।

उक्त अनुसन्धान भएमा वा चीनविरुद्ध केही भेटिएमा अमेरिकी कम्पनीहरुलाई जोगाउन राष्ट्रपति ट्रम्पले एकपक्षीय रुपमा करहरु तोक्ने, प्रतिबन्ध लगाउने वा अन्य व्यापार प्रतिबन्धहरु लगाउन सक्नेछन्।

शुरुवाती समीक्षालाई केही महिना लाग्नसक्ने ठानिएको छ ।

ट्रम्प प्रशासनको चासो किन?

चीनसँगको अमेरिकाको ठूलो व्यापार घाटाविरुद्ध ट्रम्प लामो समयदेखि प्रस्तुत हुँदै आएका छन्।

गत वर्ष दुई देशबीच ६४८ अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको थियो र अमेरिकाले झण्डै ३१० अर्ब डलरको व्यापार घाटा बेहोर्नुपर्‍यो।

अमेरिकी तर्क अनुसार घाटा हुनुका केही कारणमा अमेरिकी उत्पादनहरु र सोचहरु चिनियाँ कम्पनीहरुले नक्कल गर्नु, अमेरिकामा कम मूल्यमा बेचिनु वा चिनियाँ बजार अमेरिकी उत्पादनहरुलाई पाउन मुश्किल बनाइनु रहेका छन्।

चिनियाँ बजार छिर्न स्थानीय साझेदारहरु चाहिने वा बौद्धिक सम्पत्तिको खुलासा गर्नुपर्ने नियमहरुका कारण अमेरिकी कम्पनीहरु विशेषरुपमा दुःखी छन्।

यसले उनीहरुका सोचहरु सार्नका लागि मद्दत गर्ने गरेको उनीहरु बताउँछन्।

तस्वीर कपीराइट AFP

अमेरिकी बौद्धिक सम्पत्ति चोरीसम्बन्धी आयोगले नक्कल गरिएका सामानहरु, चोरी गरिएका सफ्टवेयर र व्यापार रहस्यहरुको चोरीको कारण वार्षिक रुपमा २२५ देखि ६०० अर्ब अमेरिकी डलर बराबरको घाटा अमेरिकी अर्थतन्त्रमा हुने गरेको आकलन गरेको छ।

बौद्धिक सम्पत्तिको उल्लंघन गर्नेमा चीन संसारमै अग्रणी भएको आरोप लाग्ने गरेको छ र अमेरिका भित्रिने नक्कली सामानहरुमध्ये ८७ प्रतिशत ‌चीनले बनाउने गरेको उक्त आयोगले बताएको छ।

सन् २०१५ को नोभेम्बरमा राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयका अनुसार ह्याकिङमार्फत हुने आर्थिक गुप्तचरीको खर्च एक वर्षमा ४०० अर्ब डलर लाग्छ।

शुरुवात मात्रै

युरोपेली संघ, जापान, जर्मनी र क्यानडाले बौद्धिक सम्पत्ति चोरीमा चिनियाँ रवैयाप्रति चासो व्यक्त गरेका छन्।

राष्ट्रपति ट्रम्पले यो समझदारीलाई 'एउटा ठूलो कदम भएको' र 'यो शुरुवात मात्र भएको' उल्लेख गरेका छन्।

गत शनिबार भर्जिनियामा भएको हिंसाका संलग्न गोरा जातिको सर्वोच्चता चाहने राष्ट्रवादी समूहप्रति गरेको निन्दाका कारण ओझेलमा परेको उक्त प्रावधानलाई धेरैले सुस्त भनेका छन्।

युरेसिया समूह सम्बन्धित विश्लेषकहरुले उक्त निर्णयले ट्रम्प प्रशासनले उत्तर कोरियाभन्दा चीनसँग सहकार्य गर्ने विषयलाई प्राथमिकता दिएको इंगित गरेको बताउँछन्।

उक्त कदमलाई लिएर चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै गम्भीर चासो व्यक्त गरेको छ र यसले पक्कै पनि दुई देशको व्यापारिक सम्बन्धलाई असर गर्ने चेतावनी दिएको छ।

चीनको सरकारी सञ्चारमाध्यमले पनि यो कदमको आलोचना गरेका छन्।

चाइना डेली समाचारपत्रमा प्रकाशित एक सम्पादकीयमा ट्रम्प प्रशासनलाई फरक बाटो समात्न आह्वान गरेको छ।

केही आलोचकहरुले राष्ट्रपति ट्रम्पको जोड खतरनाक कदम भएको जसले अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई अस्तव्यस्त पार्न सक्ने भनेका छन्।