डा. गोविन्द केसीको अनशन स्थगित

  • 15 अगस्ट 2017

बाढीपहिरोका कारण देशमा उत्पन्न असहज अवस्थाबीच डा. गोविन्द केसीले केही समयअघि आमरण अनशन स्थगित गरेको बताएका छन्।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै उनी विगत २३ दिनदेखि आमरण अनशनमा थिए।

डा. केसीका मागबारे सरकारसँग कुनै सहमति चाहिँ भएको छैन।

तराईका जिल्लाहरुमा बाढीले निम्त्याएको विपद्लाई मध्यनजर गर्दै डा. केसीले अनशन स्थगित गरेको उनका एकजना सहयोगी डा. अभिषेकराज सिंहले बताए।

पटक-पटक गरी एघारौं पटकसम्म आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य सोमवारदेखि निकै नाजुक अवस्थामा पुगेको चिकित्सकहरुले बताएका थिए।

संक्रमण

डा. केसीको स्वास्थ्यमा देखिएका अन्य जटिलताबारे डा. सन्तोष क्षेत्रीले भने, "सलाइन दिन दुवै हातको नशामा खोलिएको क्यान्नुलामा संक्रमण भएको छ।

"सलाइन दिएको ठाउँको संक्रमण रगतमा फैलियो भने त्यसले ज्यानको जोखिम अथवा मृगौला वा अन्य कुनै पनि अंगलाई फेरि सन्चो नहुने गरी खराब सम्भावना बढ्दै गएको छ।"

डा. केसी अनशन बसेको चौथो दिनमै सरकारले वार्ता टोली गठन गरेको हो र त्यसयता दुई पक्षबीच आठपटक वार्ता भएको छ।

तर सरकारी वार्ता टोलीले डा. केसीका मागलाई गम्भीरतापूर्वक नलिएको उनका प्रतिनिधिले गुनासो गरेका छन्।

पहुँच

सोमबार बीबीसीसँग कुरा गर्दै डा. केसीको वार्ता टोलीका एक सदस्य डा. अभिषेकराज सिंहले भने, "चिकित्सा शिक्षा विधेयकको बारेमा राजनीतिक तवरले सबैतिरबाट आ-आफ्नो पहुँचले छलफल जारी छ।

"त्यो बाहेक अन्य विषयमा सरकारी टोली केही छलफल गर्नै चाहँदैन।"

राजनीतिक मुद्दा बनेको चिकित्सा शिक्षा विधेयक बाहेक डा. केसीले चिकित्सा शिक्षा अध्ययन संस्थाको सहायक डिन तोक्ने, त्रिभुवन विश्वविद्यालयले सो संस्थाको क्षेत्राधिकारमा गरेका हस्तक्षेप अन्त्य गर्ने र चिकित्सा शिक्षाको विभिन्न तहको शुल्क निर्धारण गर्ने जस्ता माग पनि डा. केसीले राखेका छन्।

तर यी माग पनि सम्बोधन हुन सकेका छैनन्।

यसअघिको डा. केसीको १० औं पटकको अनशन २२ दिनमा तोडिएको थियो।

थप समाचार सामग्री:

डा. केसीको स्वास्थ्य स्थिति 'गम्भीर'

चिकित्सा शिक्षा विधेयक: मस्यौदा अन्तिम चरणमा

मनकारी डाक्टर: डा. गोविन्द केसी