'ट्रम्पको चेतावनीले काम गरेको' निष्कर्ष

  • 15 अगस्ट 2017
किम जोङ अन तस्वीर कपीराइट Reuters

प्रशान्त महासागरस्थित अमेरिकी टापु गुआमका गभर्नरले उत्तर कोरियाले दिएको क्षेप्यास्त्र हमलाको धम्कीप्रति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएको कडा प्रतिक्रियाले काम गरेको जस्तो देखिएको बीबीसीलाई बताएका छन्।

उत्तर कोरियाले गुआममाथि क्षेप्यास्त्र प्रहार गर्ने योजना स्थगित उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले बताएपछि रिपब्लिकन गभर्नर एडी क्याल्भोले त्यसो भनेका कुन्।

काल्भोले ट्रम्पका कडा टिप्पणीको समर्थन गर्दै भने, "आफ्नो कदमको नतिजा के हुन्छ भनेर त्यस्ता आक्रामक मानिसलाई स्पष्ट बताइदिए मात्रै उनीहरुको सामना गर्न सकिन्छ।"

उत्तर कोरियाका नेता किम जोङ अनले अमेरिकी क्षेत्र गुआममाथि क्षेप्यास्त्र प्रहार गर्ने योजनाको समीक्षा गरेर हाललाई स्थगित गरेको खबरलाई गुआममा स्वागत गरिएको छ।

विवाद

तर केही बासिन्दाले भने राष्ट्रपति ट्रम्पले त्यहाँको सुरक्षाका बारेमा चासो नदिएको भन्दै विरोध गरेका छन्।

गत हप्ता उत्तर कोरियाले गुआमविरुद्ध धम्की दिएपछि दुइ पक्षबीच चर्काचर्की भएको थियो।

पछिल्लो खबरलाई हेर्दा त्यो वाकयुद्ध हाललाई रोकिएको जस्तो देखिएको छ।

तस्वीर कपीराइट Reuters

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार किम जोङ अनले त्यो योजनामाथि धेरैबेरसम्म छलफल गरेका थिए तर अमेरिकाले के गर्छ त्यो हेरेर मात्रै कदम चाल्ने बताएका थिए।

तर उत्तर कोरियाजस्तो देशबारे केही पनि कुरा निश्चित रुपमा भन्न नसकिने संवाददाताहरु बताउँछन्।

प्योङयाङ गुआममाथि आक्रमण गर्नका लागि तयार नभएको हुनसक्छ र उसले समय थप्नका लागि त्यस्तो गरेको पनि हुनसक्छ।

आह्वान

दक्षिण कोरिया र उत्तर कोरियाको सबैभन्दा नजिकको सहयोगी चीनले यो समस्याको कूटनीतिक समाधानमाथि जोड दिंदै आएका छन्।

मंगलबार दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले अमेरिकाले एकपक्षीय कदम चाल्न नहुने बताएका थिए।

र, उनले अमेरिकालाई आफ्नो अनुमति विना उत्तर कोरियामाथि आक्रमण नगर्न आह्वान गरिरहेका छन्।

तर उत्तर कोरियामाथि आक्रमण गर्न अमेरिकालाई दक्षिण कोरियाको अनुमति चाहिन्छ कि चाहिंदैन भन्ने प्रश्न उठिरहेको छ।

र, अन्तर्राष्ट्रिय कानुन र दक्षिण कोरिया र अमेरिकाबीचको सैनिक सहमति अनुरुप त्यस्तो अनुमति आवश्यक छैन।