'राहत र उद्धारको कामलाई तीव्रता'

  • 15 अगस्ट 2017
Image caption बाढीका कारण ठाउँ ठाउँमा सडक भत्किएका छन्

मंगलबार मौसममा केही सुधार आएकाले राहत र उद्धारको कामलाई तीव्र पारिएको अधिकारीहरुले जनाएका छन्।

मंगलबार मौसममा केही सुधार आएकाले राहत र उद्धारको कामलाई गति दिइएको तर केही जिल्लामा खाद्यान्न र पालको अभाव भएको अधिकारीहरुले बताएका छन्।

तराईका केही जिल्लामा जलस्तर नघटेको र सडकमार्ग अवरुद्ध रहेका कारण विभिन्न स्थानलाई केन्द्रविन्दु मानेर हेलिकप्टरबाट राहत सामाग्री पठाउने व्यवस्था मिलाइएको अधिकारीहरुले बताएका छन्।

बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या हालसम्म १ सय २३ पुगेको र ३५ जना अझै हराइरहेको गृहमन्त्रालयले जनाएको छ।

खोजी, उद्धार र राहत वितरणलाई एकसाथ अगाडि बढाएको बताउने सरकारले मंगलबार मौसममा केही सुधार आएकाले त्यसमा तीव्रता दिइएको जनाएको छ।

राहत सामग्री

बाढीबाट प्रभावित ३६ जिल्लाहरुमध्ये केही जिल्लामा सवारी साधन प्रयोग गरेर राहत सामग्रीहरु पठाइएको गृहमन्त्रालयले जनाएको छ।

तर केही जिल्लामा पानीको स्तर अझै नघटेको र बाढीका कारण सडक भत्किएका ठाँउमा भने हेलिकप्टर नै परिचालन गरिएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।

उनले भने, "सामग्रीहरु संकलन गरेर सप्तरी, महोतरी, सर्लाही, रौतहट, धनुषा, पर्सा, बाँके र बर्दिया जिल्लामा दिनभर नै नेपाली सेना र निजीक्षेत्रका हेलिकप्टर मार्फत तयारी खानेकुरा, पानी, औषधि र पालहरु पठाएका छौं।"

विद्यालय सार्वजनिक स्थल र खुल्ला ठाउँहरुमा पीडितहरुलाई बस्ने व्यवस्था मिलाइएको र त्यहाँ उनीहरुका लागि तयारी खाने कुरा र पानी उपलब्ध गराइएको बताइएको छ।

मौसममा सुधार भएसँगै अस्थायी शिविरमा बसीरहेका पीडितहरु आफ्नो घर फर्किन थालेका छन्।

तर केही जिल्लामा राहत वितरणका लागि खाद्यान्न लगायतका सामग्रीको अभाव रहेको प्रवक्ता सुवेदीले बताए।

समस्या

उनले भने, "भारतसँगको सम्पर्क टुटेको छ, हाम्रो उत्पादन पनि राखिएको ठाँउबाट लैजान सक्ने अवस्था छैन। काठमान्डूबाट लगेर सबैलाई पुराउन सक्ने अवस्था छैन, त्यसैले खाद्यान्नको अभाव देखिएको छ। कतिपय ठाउँमा त्रिपालको पनि अभाव देखिएकाले समस्या भएको छ।"

तर जिल्ला, क्षेत्र र केन्द्रबीच समन्वय गरी अभाव हटाउने प्रयास भैरहेको अधिकारीहरुको भनाइ छ।

तत्काल आवश्यक सामान खरिद लगायतका कामकालागि १ करोड ९८ लाख रुपैंया निकासा भैसकेको अधिकारीहरुले बताएका छन्।

गृहमन्त्री जनार्दन शर्मा लगायतका अधिकारीहरु दिनभर विमानस्थलमै बसेर राहत र उद्धारको कामलाई समन्वय गरेका थिए।