ट्रम्पको पछिल्लो टिप्पणीको आलोचना

  • 16 अगस्ट 2017
टरीजा मे तस्वीर कपीराइट Reuters

ब्रिटेनकी प्रधानमन्त्री टरीजा मेले अमेरिकामा भएको हिंसाप्रति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको टिप्पणीको प्रतिकृया दिँदै चरम दक्षिणपन्थी विचारधारालाई सधैं निन्दा गर्नुपर्ने बताएकी छिन्।

फासीवादी र उनीहरुका विपक्षीबीच कहिल्यै नैतिक समानता हुन नसक्ने उनले पत्रकारहरुलाई बताएकी छन्।

सोमबार अमेरिकाको भर्जिनिया राज्यको शारलट्सभिलमा चरम दक्षिणपन्थीको विरोध गर्दै निकालिएको जुलुसलाई एउटा कारले ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले सो घटनामा श्वेत अतिवादीका साथसाथै अतिवादको विरोध गर्ने प्रदर्शनकारी पनि दोषी भएको बताएपछि उनको आलोचना भएको थियो।

आलोचना

ट्रम्पको टिप्पणीको प्रतिकृया दिँदै ब्रिटेनकी प्रधानमन्त्री मेले चरम दक्षिणपन्थी विचारधारालाई सधैं निन्दा गर्नुपर्ने बताएकी छन्।

मेले जिम्मेवार पदमा भएका सबैले चरम दक्षिणपन्थी विचारधारालाई हरेक पटक सुन्दा त्यसको निन्दा गर्नु महत्वपुर्ण रहेको बताएकी छन्।

त्यो घटनाप्रतिको आफ्नो पहिलो प्रतिकृयाको चौतर्फी आलोचना भएपछि ट्रम्पले सोमबार श्वेत अतीवादी समूहहरुको आलोचना गरेका छन्।

अडान

तस्वीर कपीराइट Getty Images

तर मंगलबार एउटा पत्रकार सम्मेलनमा उनले दुबै पक्ष दोषी भएको दोहोर्याएका थिए।

एउटा पक्ष खराब भएको स्वीकार्दै उनले अर्को पक्षपनि हिंसात्मक भएको कुरा कसैले नऔंल्याएको बताएका छन्।

र आफूले भने त्यो कुरा खुलेर भन्ने बताएका छन्।

ट्रम्पको रिपब्लिकन पार्टीका प्रमुख नेताहरुले उनको पछिल्लो टिप्प्णीको विरोध गरेका छन्।

विरोध

संसदका सभामुख पल रायनले श्वेत अतिवादलाई घृणित भन्दै त्यसबारेमा नैतिक दुविधा हुन नसक्ने बताएका छन्।

ब्रिटेनका दुइ जना मन्त्री र अन्य राजनीतिज्ञले पनि सामाजिक सञ्जालहरुमा ट्रम्पका टिप्पणीको विरोध गरेका छन्।

ब्रिटेनले ट्रम्पलाई दिएको राजकीय भ्रमणको निमन्त्रणा फिर्ता लिन लेबर पाटीका थुप्रै सांसदहरुले प्रधानमन्त्री मेलाई आह्वान गरेका छन्।