बार्सिलोनापछिको दोश्रो आक्रमण रोक्यौं: प्रहरी

  • 18 अगस्ट 2017
क्याम्ब्रिल्स

स्पेनको प्रहरीले क्याम्ब्रिल्समा उनीहरुकै शब्दमा बार्सिलोनापछिको दोश्रो आक्रमण रोक्न चारजना मारेको जनाएको छ।

प्रहरीले मानिसहरुलाई सडकमा नआउन चेतावनी दिएको छ।

बार्सिलोनाको मिडियाले बन्दरगाहतिरबाट गोलीको आवाज आएको जनाएको छ।

त्यसअघि बार्सिलोनाको लस र्याम्ब्लस क्षेत्रमा बिहीबार दिउसो भएको आक्रमणमा कम्तीमा तेह्र जना मारिएका र दर्जनौं घाइते भएका थिए।

भागदौड

मानिसहरुको भीडमा तीब्र गतिमा भ्यान बाङ्गोटिङ्गो गरेर जोताइएको थियो।

तस्वीर कपीराइट Getty Images

लस र्याम्ब्लसमा भाडाको भ्यान जोताइँदा पर्यटक र स्थानीयबासीहरु ज्यान जोगाउन भागेका थिए।

स्पेनका प्रधानमन्त्री मारियानो राखोइले त्यसलाई 'जिहादी आक्रमण' भनेका छन्।

दुईजना गिरफ्तार भएका छन् तर प्रहरीका अनुसार दुवैजना उक्त भ्यानका चालक होइनन् जो घटनापछि दौडेर भागेका थिए।

तथाकथित इश्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ।

आक्रमण युरोपको एउटा प्रमुख पर्यटकीय गन्तब्यमा र पर्यटकीय मौसमका बेला भएको छ।

गत वर्षको जुलाइ महिना यता युरोपमा भएका आक्रमणहरुमा सवारी साधनलाई भीडमा जोताइने गरिएको छ।

भर्त्सना

बार्सिलोना आक्रमणको विश्व नेताहरुले भर्त्सना गरेका छन्।

अमेरिकाले स्पेनलाई सहयोगको घोषणा गरेको छ।

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले ब्रिटेन आतंकवाद विरुद्ध स्पेनको साथमा रहेको बताएकी छन्।

फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँले भनेका छन्- आतंकवाद विरुद्ध हामी प्रतिबद्ध र एकबद्ध छौं।

जर्मन चान्सलर एंगेला मर्कलले घिनलाग्दो आक्रमण भनेकी छन्।