'ढुङ्गागिट्टी उत्खननले पुलहरु जोखिममा'

  • 18 अगस्ट 2017
रातु खोला पुल

वर्षौयताको सबैभन्दा खराबमध्ये ठानिएको एकसाताअघिको बाढीपहिरोमा राजमार्गका कैयौं पुल जस्ता महत्वपूर्ण संरचनाहरु भत्किएका वा जोखिममा परेका छन्।

त्यसको पछाडि, नदी तथा खोलामा अवैध रुपमा हुने गरेको ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन प्रमुख कारण रहेको सडक विभागका अधिकारीहरुले औंल्याएका छन्।

उत्खनन रोक्ने विषयसँग सम्बन्धित ठानिएका प्रशासन, स्थानीय तह र केन्द्रमा मन्त्रालयबीच नै प्रभावकारी तालमेल भएको देखिदैंन।

पुलको दायाँबायाँ निश्चित दूरीमा नदीजन्य सामाग्री निकाल्न नमिल्ने नियम भएपनि त्यसको पालना हुन नसकेको देखिएको छ।

उत्खनन

सडक विभाग पुल महाशाखाका अनुसार अवैध रुपमा ढुंगा, गिटी, बालुवा उत्खनन गरेर पुल भत्किएको एउटा उदाहरण हो, धनुषा र महोत्तरीको सिमानामा पर्ने रातु खोलाको पुल ।

पूर्व पश्चिम राजमार्गको महत्वपूर्ण उक्त पुलको जग केही दिनअघिको बाढीले थप भत्काइदिएपछि त्यो पुलबाट सवारी साधन सञ्चालन हुने अवस्था नरहेको विभागका पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए ।

उनले भने, "रुसले बनाएको रातु खोलाको पुलको करिब ३/४ मिटरको जग ढुङ्गा, गिट्टी तथा बालुवा निकालेकाले मर्मत हुन नसक्ने गरी भत्केको हो"।

आवागमन

पुलमा सवारी साधन सञ्चालन हुन नसक्ने भएपछि रातु खोलामा वैकल्पिक मार्ग बनाएर सवारी साधनको आवागमनको प्रयास गरिएको छ।

तर खोलामा अझै पानी भएकाले त्यो पनि प्रभावकारी हुन सकेको छैन।

थापाका अनुसार अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा निकालेर क्षति पुगेका धेरै पुल तराईमा छन्।

थापाले भने, "कपिलवस्तुको बाणगंगा, रुपन्देहीको तिनाउ, नवलपरासीको धरही र मनहरी, बाराको दुधौरा र कमला, मोरङको गछिया खोलामा बनेका पुलको वरपरबाट खोलाबाट ढुङ्गा, गिट्टी तथा बालुवा निकालेका कारण पुलहरुका जग भत्केका छन्"।

उनका अनुसार झापाको कनकाई नदीको पुलमा पनि नदीबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा निकालेका कारण क्षति पुगेको छ।

थापाका अनुसार यी पुलमा बाढीले थप क्षति पुर्याएको हो।

तर मध्य वर्षाको समयमा खोलाबाट केही पनि निकाल्न नमिल्ने नियम भए पनि त्यो लागू नभएको पुल महाशाखाका प्रमुख थापाले बताए ।

उनले भने, "सडक विभागले मात्र केही गर्न सक्दैन । प्रशासनको सहयोग विना केही गर्नसक्ने अवस्था छैन । मलाई त लाग्दैन तत्काल यो समाधान हुन्छ भन्ने"।

वर्षा याम सकिने बितिक्कै नजिकिने चाडवाडमा सवारी साधनको आवागमन बढी हुने भएकाले देशभरका भत्केका पुल तथा सडकहरुलाई चाँडै पहिलेको अवस्थामा ल्याउन प्रयास जारी रहेको विभागका अधिकारीहरुले बताएका छन् ।

बचाउ

ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननसँग सरोकार राख्ने केन्द्रीय निकाय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय स्वयम भने विगतमा अनुगमन फितलो हुँदा अवैध उत्खनन रोक्न नसकिएको भन्दै पन्छिन खोजेको देखिन्छ।

मन्त्रालयका सचिव दिनेश थपलिया भन्छन्, "स्थानीय प्रशासन, स्थानीय निकाय सबैले मिलेर गर्नुपर्ने हो तर कतिपय स्थानमा उनीहरुबाट प्रभावकारी अनुगमन हुन सकेन"।

कडा प्रावधानसहितको नयाँ व्यवस्था प्रस्ताव गरेर ढुङ्गा, गिट्टी उत्खनन नियन्त्रण गर्न लागिएको उनले बताए।

नयाँ व्यवस्था अनुसार, अब ढुङ्गा, गिट्टी उत्खननको अनुमति, अनुगमन लगायतका कार्यमा स्थानीय तहको प्रमुख भूमिका हुनेछ।