स्पेन हमलाका संदिग्धको देशव्यापी खोजी

  • 18 अगस्ट 2017
स्पेन हमला तस्वीर कपीराइट AFP

स्पेनको बार्सिलोना शहरमा विहीबार भएको घातक हमलामा मारिएकाहरुमा हजारौं मानिसले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

स्पेनका राजाको नेतृत्वमा एक मिनेट मौनधारण गरिएपछि राष्ट्रिय तथा स्थानीय नेताहरुले आफूहरु यस्ता हमलाहरुबाट नडराउने भन्दै नारा लगाएका थिए।

एकजना हमलाकारीले मानिसहरुको भिडमा मोटर जोताएर गरेको आक्रमणमा कम्तिमा १४ जनाको ज्यान गएको बताइएको छ।

मोरक्केली मूलका एकजना सत्र वर्षिय पुरुष सो हमलाका लागि जिम्मेवार रहेको ठानिएको छ।

प्रहरीले खतरनाक भनेका ति व्यक्ति हालसम्म फरार नै रहेका छन्। र तिनलाई पक्रन देशव्यापी रुपमा विशालस्तरको खोजी अभियान चलिरहेको छ।

दोस्रो हमला

बार्सिलोना हमलाको केही घण्टापछि नै क्यामब्रील्स नगरमा दोस्रो मोटर हमला गर्ने प्रयासमा रहेका पांचजना संदीग्ध जिहादीहरुलाई मारिदिएको प्रहरीले जनाएको थियो।

उक्त हमलामा घाइते एकजना महिलाको पछि निधन भएको थियो।

प्रहरीले क्यामब्रील्समा मारिएका पुरुषहरुको सम्बन्ध बार्सिलोना हमलासंग पनि रहेको बताएको छ, जुन हमलाको जिम्मेवारी इस्लामिक स्टेट समूहले दावी गरेको छ।

क्याम्ब्रिल्समा 'पाँच संदिग्ध मारिए'

बार्सिलोनापछिको दोश्रो आक्रमण रोक्यौं: प्रहरी

के बार्सिलोनामा भएको जस्तो हमला रोक्न सकिन्न?

बीबीसीका सुरक्षा सम्बाददाता फ्र्यांक गार्डनरको टिप्पणी:

पैदलयात्रुहरुमाथि हमला गर्न ठूला सवारी साधनलाई अस्त्रका रुपमा प्रयोग गर्ने चलन नौलो होइन। प्यालेष्टिनी उग्रवादीहरुले इजरेलीहरु विरुद्ध त्यस्तो प्रयोग गरेका छन्। सात वर्ष अघि नै अनलाइन पत्रिका मार्फत अलकायदाले पनि आफ्ना समर्थकहरुलाई त्यस्तो हमलाका लागि उक्साउने गरेको थियो।

तर केही युरोपेली शहरहरुमा हालै श्रृंखलाबद्धरुपमा हुन थालेका हमलाहरु, सन् २०१४ मा इस्लामिक स्टेटका प्रोपागाण्डाकार, हाल दिवंगत अबु मोहम्मद अल-अद्नानीले गरेको आह्वानसंग सम्बन्धित जस्तो देखिन्छ।

उनले आइएसका अनुयायीहरुलाई ठूला जटिल हमलाका योजनाहरु बनाउन भन्दा सरल, कच्चा तर ठूलो प्रभाव पार्ने उपायहरुबाट पश्चिममा हमला गर्न भनेका थिए। र उनले त्यस्तो हमलामा विशेषगरी सवारीसाधनहरुको प्रयोग गर्ने उपाय सुझाएका थिए।

अब मध्यपूर्वमा आइएस चरम दबाबमा परेको बेला त्यसका बांकी बचेका नेताहरु आफ्नो शासन अन्त्य गर्न जिम्मेवार ठानिएका देशहरु विरुद्ध पहिले भन्दा बढी हमलाहरु गर्न तयार भएका देखिन्छ।

यो परिस्थितिमा पश्चिमा सरकारहरुले भविष्यमा हुनसक्ने हिंसात्मक जिहादी हमलाहरुको पूर्वानुमान र रोकथामका उपायहरु अपनाउनु पर्ने अवस्था सिर्जना भएको छ।