बार्सिलोना आक्रमण - चालकको नयाँ खोजी

  • 19 अगस्ट 2017
फरार तस्वीर कपीराइट AFP/GETTY
Image caption अबुयाकुब, २२, फरार रहेको विश्वास गरिएको छ

स्पेनको प्रहरीले बार्सिलोनाको पर्यटकीय क्षेत्रमा भ्यान आक्रमण गरेका चालक अझ पनि जीवित हुन सक्ने बताएको छ।

स्पेनको मिडियाले संदिग्ध चालक हुनसक्ने भनेर लेखेको मोरक्को मुलका युनेस अबुयाकुबको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ।

यस अघि मुख्य संदिग्ध मानिएका मोउसा ओकाबीर, १७, क्याम्ब्रिल्समा भएको आक्रमणमा मारिएका थिए।

शुक्रबार अबेर प्रहरी प्रमुख जोसेप ट्रापेरोले स्थानीय टेलिभिजनलाई बताएका थिए- बार्सिलोनामा आक्रमण गर्ने भ्यानका चालक ओकाबीर रहेको भन्ने कुरा अहिले कमजोर बनेको छ।

योजना

एक अखबारले भनेको छ अबुयाकुबलाई नयाँ प्रमुख संदिग्ध ठानिँदै छ।

प्रहरीले संदिग्धहरुले ठूलो किसिमको आक्रमणको योजना बनाइरहेको ठान्छ।

अबुयाकुब, २२, बार्सिलोनाको उत्तरमा रहेको रिपोल शहरका बासिन्दा हुन्।

रिपोलमा दुईजना र अल्कानारमा एकजना शुक्रबार गिरफ्तार गरिएका छन्।