बाढीः दक्षिण एसियामा १.६ करोड प्रभावित

  • 19 अगस्ट 2017
बाढी तस्वीर कपीराइट EPA

दक्षिण एसियाली क्षेत्रमा पछिल्लो बाढीका कारण एक करोड ६० लाखभन्दा बढी मानिसहरु प्रभावित भएको सहायताकर्मीहरुले बताएका छन्।

बाढीका कारण नेपाल, बांग्लादेश र भारतमा गरी अहिलेसम्म करिब ५०० जनाको ज्यानको गएको छ।

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीका अनुसार बाढीका कारण दक्षिण एसियामा केही वर्षयताकै सबैभन्दा नराम्रोमध्येको एक मानवीय संकट उत्पन्न भइरहेको छ।

खाद्यान्न अभाव र बाढी पीडितहरुमा प्रदूषित पानीबाट फैलिनसक्ने रोगलाई लिएर चिन्ता व्यक्त गरिएका छन्।

गम्भीर

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीका क्षेत्रीय उपनिर्देशक मार्टिन फेलरले बाढीका कारण नेपाल र बांग्लादेशमा एक तिहाई मानिसहरु र भारतका चारवटा उत्तरी राज्यमा १ करोड १० लाख मानिसहरु प्रभावित भएको बताए।

बाढीका कारण दशौं हजार मानिसहरु विस्थापित भएका छन्।

तस्वीर कपीराइट EPA

"दक्षिण एसियाली क्षेत्रमा केही वर्षयता यो गम्भीरमध्येको एक समस्याको रुपमा देखिन थालेको छ र विनाशकारी बाढीका कारण प्रभावित लाखौं मानिसहरुको आवश्यकता पूरा गर्नका निम्ति तत्काल कदम चाल्न जरुरी छ," फेलरले एउटा विज्ञप्तिमा भनेका छन्।

"नेपाल, बांग्लादेश र भारतमा लाखौं मानिसहरुहरुले खानेकुराको चरम अभावको र प्रदूषित पानीबाट हुने रोगको सामना गर्नुपरेको छ।"

बांग्लादेशमा बाढीको स्तर एकदमै उच्चबिन्दुमा पुगेको र आउने दिनहरुमा अझ बढ्नसक्ने अनुमान गरिएको छ।

विध्वंश

सेभ द चिल्ड्रेनका निर्देशक मार्क पिएर्सले अवस्था 'निकै चिन्ताजनक' रहेको बताएका छन्।

तस्वीर कपीराइट EPA

उनले भने, "अत्यधिक पानीका कारण सहयोग चाहिएका कतिपय समुदायसम्म पुग्न नसकिरहेको अवस्था छ।"

नेपाल रेडक्रस सोसाइटीले खेतीपाती हुने नेपालको प्रमुख क्षेत्रमा आएको बाढीले धेरै धानबाली नष्ट भएको जनाएको छ।

नेपाल रेडक्रस सोसाइटीका महासचिव देवरत्न धाख्वाले भने, "यो विध्वंशले गम्भीर खाद्य संकट निम्त्याउन सक्ने चिन्ता छ।"

सेभ द चिल्ड्रेन भारतका प्रबन्धक मुराली कुन्दुरुले हरेक वर्ष मनसुनी वर्षा हुने गरेपनि खासगरी यसपटक विगतमा भन्दा ठूलो पानी परेको बताए।