'स्पेनमा आतंकवादको जोखिमको तह नबढाइने'

  • 19 अगस्ट 2017
स्पेन तस्वीर कपीराइट EPA

स्पेनका आन्तरिक मामिलामन्त्रीले देशमा आतंकवादको जोखिमको तह नबढाइने बताएका छन्।

जोखिमको उच्च तह अर्थात् पाँचौं तहको सट्टा चार नै कायम राखिने उनको भनाइ छ।

सुरक्षा प्रमुखहरुसँगको एउटा बैठकपछि उक्त निष्कर्षमा पुगिएको अधिकारीहरुले बताएका छन्।

आतंकवादको जोखिमलाई चौथो तहमै राख्नुको अर्थ सडकमा सेनाको सट्टा प्रहरीहरु परिचालित रहनेछन्।

ध्वस्त

तत्काल अर्को आक्रमणको सम्भावना भएको खण्डमा मात्रै पाँचौं तहको जोखिम भएको मानिन्छ।

बिहीवार राति भएका आक्रमणहरुपछि सुरक्षा कदमबारे विमर्श गर्न सरकारले सुरक्षा प्रमुखहरुको बैठक डाकेको थियो।

आन्तरिकमन्त्रीले क्याटालोनियामा गराइएका दुईवटा हमलामा संलग्न जिहादी समूहलाई ध्वस्त पारिएको बताएका छन्।

यद्यपि क्याटालोनिया प्रहरीका प्रवक्ताले त्यसको पुष्टि गरेनन्।

उनले त्यस्तो जानकारी स्थानीय सुरक्षा निकायबाट मात्रै प्राप्त गर्न सकिने बताए।

विश्वास

बार्सिलोना र क्याम्ब्रिल्समा गराइएका आक्रमणबारे स्थानीय सुरक्षा निकायले अनुसन्धान गरिरहेको बताइएको छ।

१४ जनाको ज्यान जाने गरी भएका दुईवटा आक्रमणपछि स्पेन सरकारले महत्त्वपूर्ण पर्यटकीय क्षेत्र र भीडभाड हुने सार्वजनिक स्थानमा प्रहरीको उपस्थिति बढाइने बताएको छ।

प्रहरीले बार्सिलोनामा बटुवाहरुमाथि भ्यान जोताउने संदिग्धको अझै खोजी गरिरहेको बताएको छ।

तस्वीर कपीराइट EPA

भ्यान चालक अझै जीवित हुनसक्ने प्रहरीको विश्वास छ।

स्थानीय सञ्चारमाध्यमले संदिग्ध चालक हुनसक्ने भनेर लेखेको मोरक्को मूलका युनेस अबुयाकुबको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमजोर

यसअघि मुख्य संदिग्ध मानिएका १७ वर्षीय मूसा ओकाबीर क्याम्ब्रिल्समा भएको आक्रमणमा मारिएका थिए।

शुक्रबार अबेर प्रहरी प्रमुख जोसेप ट्रापेरोले बार्सिलोनामा आक्रमण गर्ने भ्यानका चालक ओकाबीर रहेको भन्ने कुरा अहिले कमजोर बनेको स्थानीय टेलिभिजनलाई बताएका थिए।

२२ वर्षीय अबुयाकुब बार्सिलोनाको उत्तरमा रहेको रिपोल शहरका बासिन्दा हुन्।

रिपोलमा दुईजना र अल्कानारमा एकजना शुक्रबार गिरफ्तार भएका थिए।