दार्जिलिङ विस्फोट: राज्य सरकारद्वारा मोर्चामाथि आरोप

  • 20 अगस्ट 2017
दार्जिलिङ्

विस्फोटमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाका नेताहरुको हात रहेको पश्चिम बंगाल सरकारले आरोप लगाएको छ।

मोर्चाले उक्त आरोप अस्वीकार गरेको छ।

मोर्चाका सचिव विनय तामाङले भने, "हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेको बेला त्यस्तो विषय सोच्न पनि नसकिने कुरा हो। राज्य सरकारको आरोप झुटो हो"।

चेतावनी

पश्चिम बंगाल सरकारका पर्यटन मन्त्री गौतम देवले सिलिगुडीमा पत्रकारहरुसँग कुरा गर्दै विस्फोटमा संलग्नलाई खोजी गरेर कडा कारवाही गर्ने चेतावनी दिएका छन्।

पश्चिम बंगाल प्रहरीले विस्फोटमा संलग्न भएको भन्दै मोर्चाका नेताहरुविरुद्ध अदालतमा मुद्धा दायर गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतीय गोर्खालीहरुका लागि छुट्टै स्वायत्त राज्य गोर्खाल्याण्डको माग गर्दै दुई महिनाभन्दा लामो आम हड्ताल चलिरहेका बेला दार्जिलिङ तथा कालिम्पोङमा शनिबार दुईवटा शक्तिशाली बम विस्फोट भएका थिए।

Image caption बम विस्फोटका कारण केही पसलमा समेत क्षति पुगेको थियो।

हताहती

शनिबार राति ११ बजेको आसपास कालिम्पोङमा भएको विस्फोटमा एकजना प्रहरीको ज्यान गएको थियो।

शनिबार सबेरै दार्जिलिङ्मा भएको विस्फोटले केही पसलहरुमा क्षति पुर्याएको पश्चिम बंगाल प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दार्जिलिङको आन्दोलनका क्रममा बम विस्फोटका घटना यसअघि भएका थिएनन्।

विस्फोटपछि त्यहाँको जनजीवन त्रसित बनेको बताइएको छ।