जिम्बाब्वेकी प्रथम महिलालाई उन्मुक्ति

  • 20 अगस्ट 2017
जिम्बाब्वे तस्वीर कपीराइट AFP

दक्षिण अफ्रिकाको सरकारले एक मोडलमाथि आक्रमणको आरोप खेपिरहेकी जिम्मेबाब्वेकी प्रथम महिलालाई देश छाड्न कूटनीतिक उन्मुक्ति दिएको छ।

पीडितका वकीलले सरकारी निर्णयविरुद्ध पुनरावेदन गर्ने जनाएका छन्।

जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेकी पत्नी ग्रेसले दक्षिण अफ्रिकाको जोहन्सबर्गस्थित होटलमा मोडल ग्याब्रियला एन्जेल्समाथि आक्रमण गरेको आरोप लागेको छ।

फिर्ता

उन्मुक्तिपछि ग्रेस आफ्ना पतिसँगै आइतबार सबेरै हरारे फर्किएकी छन्।

उनले सार्वजनिक रुपमा कुनै टिप्पणी गरेकी छैनन्।

मोडलका वकीलले कूटनीतिक उन्मुक्तिविरुद्ध अदालत जाने बताएका छन्।

राष्ट्रपति पत्नी निजी कामका सिलसिलामा दक्षिण अफ्रिकामा रहँदा पछिल्लो घटना भएकाले उनले कूटनीतिक उन्मुक्ति पाउन नहुने ती वकीलको तर्क छ।

अधिकार

सरकारी निर्णयबारे वैदेशिक मामिला मन्त्रीको सूचना राजपत्रमा प्रकाशन भएको छ।

जोहन्सबर्गबाट बीबीसी संवाददाता सोफी रिबस्टेन भन्छिन्, "राजपत्रमा प्रकाशित सूचना अनुसार दक्षिण अफ्रिकाकी विदेश मामिला मन्त्रीले जिम्बाबेकी प्रथम महिलासँग कूटनीतिक उन्मुक्तिको अधिकार रहेको र उनी कुनै फौजदारी अभियोगविना आफ्नो देश फर्कन पाउने बताएकी छन्"।

यसअघि दक्षिण अफ्रिकाको प्रहरीले जिम्बाब्वेकी प्रथम महिलासँग आफूहरुले कुराकानी गर्न चाहेको र उनले देश नछाडून् भन्न उद्देश्यले सिमानामा चेतावनी जारी गरेको बताएको थियो।

तर जिम्बाबेको सरकारी सञ्चारमाध्यमले राष्ट्रपति मुगाबे र उनकी पत्नी स्वदेश फर्किएको जनाएको छ।