तेल ट्यांकरसँग पानीजहाज ठोक्किदा १० बेपत्ता

  • 21 अगस्ट 2017
जलसेना तस्वीर कपीराइट US NAVY

अमेरिकी जलसेनाको एउटा पानीजहाज सिंगापुरको समुद्री क्षेत्रमा तेल बोकेको व्यवसायिक पानीजहाजसँग ठोक्किदा १० जना नाविकहरु बेपत्ता भएका छन्।

युएसएस 'जोन मक्केन' नामक उक्त क्षेप्यास्त्र नष्ट गर्ने क्षमताको पानीजहाजमा क्षति पुगेको जनाइएको छ।

अमेरिकी जलसेनाको पानीजहाज दुई महिनामा दोस्रो पटक यस्तो गम्भिर प्रकृतिको दुर्घटनामा परेको हो।

अमेरिकी जलसेनाको उक्त पानीजहाज आफ्नो नियमित बन्दरगाहतर्फको यात्रामा सिंगापुरमा रहेको थियो र पछिल्लो दुर्घटना मलाका स्ट्रेट्सबाट पूर्वतर्फ भएको अधिकारीहरुले बताएका छन्।

उद्दार

अर्को पानीजहाज लाइबेरियाको झण्डा सहितको तेल ट्याकंर भएको र सैनिक पानीजहाज भन्दा उल्लेख्य रुपमा ठूलो भएको बताइएको छ।

तस्वीर कपीराइट Getty Images

डुँगा तथा हेलिकोप्टरबाट हराइरहेका नाविकहरुको खोजीकार्य अघि बढाइएको छ।

उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।

गएको जुन महिनामा अर्को अमेरिकी सैनिक पानीजहाज 'युएसए फिट्सजेरल्ड' एउटा व्यवसयिक पानीजहाजसँग ठोकिंदा सात जनाको मृत्यु भएको थियो।

उक्त पानीजहाजका कमाण्डरहरुलाई कारबाही गरिएको घोषणा बिहीबार मात्रै अमेरिकी जलसेनाले गरेको थियो।