संविधान संशोधन विधेयक अस्वीकृत

  • 21 अगस्ट 2017
संसद

व्यवस्थापिका-संसदको सोमबार बसेको बैठकमा निर्णयार्थ पेश भएको संविधानको दोस्रो संशोधनको विधेयकको पक्षमा दुई तिहाई मत पुग्न सकेन।

उक्त प्रस्तावको पक्षमा ३४७ मत परेको थियो भने विपक्षमा २०६ मत परेको थियो। कूल ५५३ मत खसेको थियो।

तर पक्षमा परेको मत संसदमा तत्काल कायम ५९२ सदस्य संख्याको दुई तिहाई नपुगेकाले सो विधेयक अस्वीकृत भएको सभामुख ओनसरि घर्तीले घोषणा गरेकी छन्।

सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र तथा तराई केन्द्रीत दलहरुले उक्त विधेयकको पक्षमा मत दिएका थिए।

तर प्रमुख प्रतिपक्षी नेकपा एमाले, तथा केही साना दलले उक्त विधेयकको विपक्षमा भोट दिए।

शर्त

खासगरी तराई केन्द्रीत दलहरुले संविधान संशोधनका लागि संविधान जारी भएकै समयदेखि जोड दिंदै आएका थिए। संविधानको पहिलो संशोधन भए पनि उनीहरुले त्यो अपुग भएको भन्दै आएका थिए। उनीहरुले संविधान संशोधनलाई निर्वाचनमा भाग लिनका लागि शर्तको रुपमा राख्दै आएका थिए।

तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले उक्त संशोधन विधेयक उसकै शब्दमा राष्ट्रघाती भएको भन्दै विरोध गर्दै आएको थियो।

दुई तिहाई समर्थन पुग्न नसक्ने देखिएपछि सरकारले वितेको चार महिनादेखि सो विधेयकलाई संसदमा अगाडी नबढाइकनै त्यतिकै राखिरहेको थियो।

तर केही समय अगाडी तराई केन्द्रीत दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालसंग जे परिणाम आए पनि विधेयकलाई निर्णयार्थ लैजानेबारे कुराकानी भएपछि सोमबार संसदमा मतदान भएको हो।

के थियो संशोधन विधेयकमा?

सरकारले प्रदेश नम्बर ५ को सिमाङकन समेत हेरफेर गर्ने गरि संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको सत्तारुढ दलकै सांसदहरुले विरोध गरेपछि सिमाङकनको विषयलाई हटाएर नयाँ संशोधन विधेयक संसदमा लगिएको थियो।

विधेयकमा वैवाहिक अंगीकृत नागरिकता, सरकारी कामकाजका भाषा, जनसंख्याका आधारमा प्रतिनिधित्व, राष्ट्रिय सभाको निर्वाचन व्यवस्था जस्ता विषयहरुमा हालको संविधानमा गरिएको व्यवस्थामा प्रतिवर्तनको प्रस्ताव गरिएको थियो।