तोकिएको मितिमा चुनाव गर्न आयोग तयार

  • 21 अगस्ट 2017
निर्वाचन आयोग

निर्वाचन आयोगले केही प्रविधिक विषय छिट्टै सल्टिए सरकारले सिफारिस गरेकै मंसिर १० गतेको दिन प्रतिनिधि सभा तथा प्रदेश सभा दुवैको निर्वाचन गर्न तयार रहेको बताएको छ।

लामो समयदेखिको कसरतपश्चात सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभा दुवैको एकै दिन चुनाव गर्न आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ।

यसअघि दुवै चुनाव एकै पटक गर्न मतपत्रको व्यवस्थापन जस्ता प्राविधिक जटिलता देखाउँदै आएको निर्वाचन आयोगले ती जटिलता फुकाइए सरकारले तोकेको मितिमै निर्वाचन गर्न तयार रहेको बताएको छ।

साथै त्यसका लागि चाहिने आवश्यक कानून भदौको दोस्रो साता भित्र उपलब्ध हुनु पर्ने उसले बताएको छ।

कानून चाहिन्छ

निर्वाचन आयोगका एक आयुक्त नरेन्द्र दाहालले भने, "हामीलाई अब प्रतिनिधि सभा र प्रदेश सभा सम्बन्धी ऐनको जरुरत पर्छ। साथै भदौ महिनाको १५ गते भित्रमा क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त हुनु पर्छ। प्रतिवेदन आएन भने कहाँ निर्वाचन गराउने भन्ने समस्या पर्नेछ।"

निर्वाचन आयोगले सरकारलाई भदौको पहिलो साता भित्र प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति तोक्न आग्रह गर्दै आएको थियो।

निर्वाचन आयोगसंग भएका पछिल्ला छलफलमा सरकारले दुवै चुनाव एकै पटक गर्ने अनौपचारिक प्रस्ताव राख्दै आएको थियो।

तर आयोगले भने विभिन्न प्राविधिक जटिलता देखाउँदै मंसिर ४ र २१ गतेको प्रस्ताव गरेको थियो।

संवैधानिक प्रावधान

त्यस विपरित सरकारले सोमबार दुवै निर्वाचनको लागि एकै दिनको मिति तोकेको हो।

सरकारले तोकेको मिति बारे कानून न्याय तथा संसदिय मामिला मन्त्री यज्ञबहादुर थापाले भने, "प्रदेश तथा प्रतिनिध सभाको निर्वाचन एकै दिन गर्ने गरी २०७४ मंसिर १० गते हुनेछ र यसको जानकारी निर्वाचन आयोगलाई दिइसकिएको छ।"

निर्वाचन क्षेत्र निर्धारण गर्न बनेको क्षेत्र निर्धारण आयोगको समयावधि भदौ १५ गतेसम्म छ।

त्यस्तै प्रतिनिधि, प्रदेश र राष्ट्रिय सभा सम्बन्धी विधेयक लामो समयदेखि संसदको राज्य व्यवस्था समितिमा अड्किएको छ।

संवैधानिक प्रावधान अनुसार माघ सात भित्र तीन वटै तहको निर्वाचन गरि सक्नु पर्नेछ।