'विधेयक अस्वीकृत हुनु दुर्भाग्यपूर्ण'

  • 21 अगस्ट 2017
Image caption चार महिना भन्दा लामो समयसम्म संसदमा रहेको सो विधेयकमाथि सोमबार मतदान भयो

संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत हुनुलाई तराई केन्द्रित दल राष्ट्रिय जनता पार्टीले 'दुर्भाग्यपूर्ण' भनेको छ।

तराई केन्द्रित दलहरुको माग सम्बोधन गर्न भन्दै सरकारले संसदमा प्रस्तुत गरेको संविधानको दोस्रो संशोधन विधेयक संसदमा दुईतिहाइ बहुमत पुग्न नसकी विफल हुनुले मधेशी जनतालाई भुल्नै नसक्ने पिडा दिएको उनीहरुको भनाइ छ।

संशोधन पारित हुनका लागि ३९५ मत आवश्यक पर्नेमा पक्षमा ३४७ मत मात्र परे पछि विधेयक पारित हुन नसकेको हो।

संशोधनको विपक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य केही साना पार्टीहरुले मतदान गरेका थिए।

मतदान

चार महिना भन्दा लामो समयसम्म संसदमा रहेको उक्त विधेयकलाई सोमबार निर्णयार्थ मतदानमा लगिएको थियो।

कूल ५ सय ५३ जना सांसद उपस्थित रहेको संसद बैठकमा संविधान संशोधनको पक्षमा ३ सय ४७ जना र विपक्षमा २ सय ६ जनाले मतदान गरेको संसद सचिवालयले जनाएको छ।

जुन संख्या संशोधन पारित हुनलाई अपुग रहेको भन्दै सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधेयक अस्वीकृत भएको घोषणा गरेकी थिइन।

संसदको निर्णय पछि प्रतिक्रिया दिंदै राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, "यो अत्यन्त दुर्भाग्यपूर्ण हो। मधेशी जनता बाढीको पिडामा छटपटाइरहेको बेलामा एउटा थप पीडा उनीहरुको टाउकोमा थुपारिएको छ। यो कहिले पनि भुल्न नसक्ने पीडा हो।"

शर्त

पहिले विधेयकको विरोध गरेका तराई केन्द्रित दलहरुले निर्वाचनमा भाग लिनका लागि सरकारले प्रस्ताव गरेको विधेयक पारितलाई नै शर्तको रुपमा राख्दै आएका थिए। संविधान संशोधन नभए पछि अब प्रदेश नम्बर २ नम्बरमा हुने स्थानीय तह लगायत प्रदेश र प्रतिनिधिसभाको चुनावमा भाग लिने या नलिने भन्ने बारेमा मंगलबार बस्ने पदाधिकारी बैठकले निर्णय लिने उनीहरुको भनाइ छ।

संशोधनको पक्षमा सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक र संविधान संशोधनको माग गर्दै आएका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल लगायत केही साना दलका सांसदहरुले मत दिएका थिए।

संशोधन

प्रमुख विपक्षी दल नेकपा एमाले, कमल थापाले नेतृ्त्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका साथै केही साना दलका सांसदहरुले संशोधनको विपक्षमा मतदान गरे।

नेकपा मालेका सांसदहरुले मत विभाजन प्रकृया शुरु हुनै लाग्दा मतदानमा भाग नलिने घोषणा गरेका थिए भने पशुपति शम्शेर राणा नेतृत्वको राप्रपाका सांसदहरु मतदान प्रकृयामा अनुपस्थित रहेका थिए।

विधेयकमा वैवाहिक अंगीकृत नागरिकता, सरकारी कामकाजका भाषा, जनसंख्याका आधारमा प्रतिनिधित्व, राष्ट्रिय सभाको निर्वाचन व्यवस्था जस्ता विषयहरुमा हालको संविधानमा गरिएको व्यवस्थामा परिवर्तनको प्रस्ताव गरिएको थियो।