बार्सिलोना आक्रमणका संदिग्ध मारिएः प्रहरी

  • 22 अगस्ट 2017
युनेस तस्वीर कपीराइट catalan police/el pais

स्पेनको प्रहरीले बार्सिलोना आक्रमणका मुख्य संदिग्ध युनेस अबुयाकुब सुरक्षा कारबाहीमा मारिएको बताएको छ।

गत बिहीवार लस र्‍याम्ब्लसमा मानिसहरुमाथि भ्यान जोताउने उनी नै भएको स्पेनको प्रहरीको विश्वास छ।

उक्त आक्रमणमा १३ जनाको ज्यान गएको थियो भने १०० जनाभन्दा बढी घाइते भएका थिए।

बार्सिलोनादेखि ४० किलोमिटर पश्चिममा एउटा फोहोर प्रशोधन केन्द्र नजिक गोप्य सूचनापछि उनलाई गोली हानिएको प्रहरीले जनाएको छ।

निष्क्रिय

नक्कली विस्फोटक 'बेल्ट' लगाएका अबुयाकुब अरेबिकमा 'ईश्वर महान् हुन्' भन्दै चिच्याएका थिए।

सुबीराट्स क्षेत्रलाई घेराउ गरी सुरक्षाकर्मीले संदिग्धको व्यापक खोजी गरिरहेको थियो।

तस्वीर कपीराइट AFP

पेट्रोल पम्पमा काम गर्ने एकजनाले अबुयाकुबलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए र त्यहाँ प्रहरी पुग्दा उनी अंगुरको खेतमा लुकेका थिए।

प्रहरीले उनलाई गोली हानेपछि बम निष्क्रिय पार्ने अधिकारीहरुले 'रोबोट'को प्रयोग गरी विस्फोटक 'बेल्ट'को जाँच गरेका थिए।

पहिचान

जाँचका कारण मोरक्को मूलका अबुयाकुबको औपचारिक पहिचान गर्न केही ढिला भएको थियो।

स्थानीयवासीहरुका अनुसार प्रहरीका २० वटा कार र माथि आकाशमा हेलिकोप्टरहरु घटनास्थलमा देखिएका थिए।

घटनाबारे अझै अन्तर्राष्ट्रिय रुपमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रहरीले एउटा पत्रकार सम्मेलनमार्फत जानकारी गराएअनुसार यसअघि अबुयाकुब बार्सिलोनाको बाहिरी भेगमा एकजना कार चालकलाई कुटपिट गरी कार लिएर त्यहाँबाट फरार भएका थिए।