दुई चरणको चुनावको पनि सम्भावना : आयोग

  • 22 अगस्ट 2017
निर्वाचन आयोग

सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनावको मिति मंसिर १० गते तोकेको भोलिपल्टै निर्वाचन आयोगले चुनाव दुई चरणमा हुने सम्भावना औंल्याएको छ।

आयोगले मौसमका कारण दुई चरणमा गर्नु पर्ने अवस्था सृजना हुनेसक्ने कुरा सरकारलाई जानकारी गराउने निर्णय गरेको हो।

आयोगको बैठकको निर्णयमा चुनावको मिति तोक्ने सरकारी कदमको स्वागत र सराहना गरिएको छ।

उसले सरकारले तोकेको मितिमा चुनाव गराउने प्रतिबद्धता पनि जनाएको छ।

पुरानो सम्झना

तर निर्णयमा उसको असन्तुष्टि पनि झल्किन्छ।

आफूले मंसिर ४ र २१ गते दुई चरणमा चुनाव गर्न सरकार र प्रमुख दललाई सुझाव दिएको सम्झना गराउँदै आयोगले 'कथंमकदाचित उक्त मितिमा मौसमको अनुकूलता नभएमा अर्को चरणमा समेत निर्वाचन गराउनु पर्ने अवस्था रहन सक्ने' जानकारी सरकारलाई गराउने निर्णय गरेको छ।

काठमाण्डूको एउटा कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले भने, "मानवीय र प्राकृतिक दुबै पक्षलाई विचार गरेर मंसिर १० गतेको निर्वाचन अर्को चरणमा गर्ने अवस्था पनि आउन सक्छ।"

उनले बीबीसीसँग संक्षिप्त कुरा गर्दै प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष अर्थात पहिलो हुनेले जित्ने र समानुपातिक गरी चारथरी मतपत्रको व्यवस्था गरिएमा चुनाव गराउन नसक्ने बताए। तर उनले त्यसबारे थप खुलाउन मानेनन्।

असम्भव

त्यसबारे आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, "चारथरी मतपत्र राख्दा ६-७ करोड छाप्नु पर्ने र त्यो सम्भव नहुने धारणा हुनसक्छ।"

चुनावको निम्ति अनिवार्य कानूनले अन्तिम रुप पाएका छैनन् भने निर्वाचन क्षेत्र निर्धारण गर्न बाँकी छ।

सरकारले मिति घोषणा गरेपछि चुनाव हुने विश्वास बढेको देखिएको थियो।

तर आयोग र सरकारबीचको तालमेल र फरक मतले निर्वाचनबारेको अन्योल कायमै रहेको ठान्नेहरुको ठम्याईलाई बल पुर्याए जस्तो देखिन्छ।