‘विगतका सम्झौता कार्यान्वयनमा जोड’

  • 23 अगस्ट 2017
देउवा तस्वीर कपीराइट Reuters

बुधबारबाट पाँच दिने दिल्ली भ्रमण शुरु गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत सरकारसँग विगतमा भएका सहमति र त्यसको कार्यान्वयनका बारेमा आफ्ना छलफल केन्द्रित गर्ने उनका विदेश मामिला सल्लाहकारले बताएका छन्।

पञ्चेश्वर बहुद्देश्यीय परियोजनाको अवरोध, हुलाकी सडक निर्माण अनि सीमामा भारतद्वारा निर्माण गरिएका बाँध र तिनले नेपालमा पारेका असरका बारेमा पनि कुराकानी हुने अधिकारीहरु बताउँछन्।

प्रधानमन्त्री देउवाले दिल्ली बाहेक भारतका ३ वटा अन्य प्रदेशको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री चुनिएको करिब अढाई महिनापछि देउवा पहिलो विदेश भ्रमणका क्रममा भारत जान लागेका हुन्।

मुद्दा

तस्वीर कपीराइट INDIAN EMBASSY

प्रधानमन्त्रीले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीका सहित उच्च पदस्थ अधिकारीहरु र विभिन्न दलका नेताहरुसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटघाट नेपाल र भारतका तर्फबाट विगतमा गरिएका सहमति र तिनको कार्यान्वयनमा केन्द्रित हुने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भटराई बताउँछन्।

उनले भने, "दुईपक्षीय सम्बन्ध र सहयोगलाई कसरी अगाडी बढाउने, कसरी सुध्रार गर्ने अनी विगतमा सहमति भएका परियोजनालाई कसरी अघि बढाउने भन्नेमा कुरा हुन्छ।"

दिल्ली यात्रा: अप्ठ्यारो र अवसर

भ्रमण क्रममा छलफल हुने विषयगत सूची तयार पारिएको र तीनमा विद्युत, भौतिक पूर्वाधार कृषि, संस्कृती लगायतका विषय समावेश गरिएको सल्लाहकार भटराईले बताए।

उनले भने, "पञ्चेश्वर परियोजना, एकिकृत जाँच चौकी, दुई देशीय प्रशारण लाईन, सुख्खा बन्दरगाह निर्माण र सुदुरपश्चिमा बनाउने भनिएको पोलिटेक्निकल ईन्स्टिच्युट लगायतका अन्य विषय सहितको सूची तयार पारेका छौं, तीनै विषयमा कुरा गर्ने योजना छ। "

नेपाल-भारत सीमामा भारतले बनाएका बाँधले नेपालमा डुबान भएको बारे संयुक्त अनुगमन गर्नुपर्ने विषय पनि उठाउने तयारी भएको बताइएको छ।

प्रधानमन्त्रीले भारतका तेलङगाना, आंध्र प्रदेश र बिहार राज्यको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवा आईतबार नेपाल फर्कने कार्यक्रम रहेको छ।