पूर्व योजना विनै मोदी-देउवा भेट

  • 23 अगस्ट 2017
देउवा र मोदी तस्वीर कपीराइट PM_INDIA

आफ्नो पाँच दिने औपचारिक राजकीय भारत भ्रमणमा बुधबार दिल्ली उत्रिएका प्रधानमन्त्री शेरबहादुर देउवाले साँझ आकस्मिक रुपमा आफ्ना भारतीय समकक्षीसँग एक्लाएक्लै भेटवार्ता गरेका छन्।

भारतीय प्रधानमन्त्रीको सरकारी निवास दिल्लीस्थित सेभेन रेसकोर्स रोडमा भएको भेटवार्ताको विस्तृत विवरण आएको छैन तर बिहीबारको दुई पक्षीय औपचारिक भेटघाटअघि नै भएको एक्लाएक्लै कुराकानीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

इच्छा

औपचारिक कार्यतालिका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच एक्लाएक्लै आधा घण्टाको भेटवार्ताको कार्यतालिका बिहीबारका लागि छुट्टयाइएको छ।

त्यसपछि दुई पक्षीय औपचारिक वार्ता हुने भनिएको थियो।

तर बुधबार आकस्मिक रुपमै एक्लाएक्लै भेट्न मोदीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत आफ्नो इच्छा जाहेर गरेपछि देउवा उनीसँग कुराकानीका लागि भारतीय प्रधानमन्त्रीको सरकारी निवास पुगेको नेपाली उच्च अधिकारीहरुले पुष्टि गरेका छन्।

त्यसको कारणबारे सोध्दा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भने, "कारण त थाहा छैन तर उहाँले भेटौं भनेको भएर भेट भएको छ।"

बुधबार उक्त कुराकानी भइसकेपछि बिहीबारको एक्लाएक्लै भेटवार्ता हुने वा नहुने अन्योल नै छ।

तर मोदीले बुधबारको भेटवार्तापछि ट्वीट गर्दै बिहीबार गहन छलफल हुने अपेक्षा गरेका छन्।

देउवाले पनि बुधबार बिहान ट्वीट गर्दै आफ्नो भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुत बनाउने आशा व्यक्त गरेका छन्।

समझदारी

तस्वीर कपीराइट PM_Nepal

बिहीबार हुने दुईपक्षीय औपचारिक भेटवार्तापछि आधा दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर गर्ने योजना रहेको उपप्रधान तथा परराष्ट्रमन्त्री महराले सुनाए।

"भूकम्पपछिको पुनर्निर्माण सम्बन्धमा चार विषय छन्। साथै लागूऔषध नियन्त्रण अनि गुणस्तर निर्धारण सम्बन्धी पनि विषय छन्," उनले भने।

देउवाले बिहीबार नै भारतीय राष्ट्रपति उपराष्ट्रपति तथा अन्य वरिष्ठ भारतीय मन्त्रीहरुसँग भेट्ने कार्यक्रम छ।

मन्त्री, सांसद, उच्चसरकारी पदाधिकारी तथा सहयोगीहरुको ५० सदस्यीय टोली लिएर दिल्ली उत्रिएका देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वाराजले स्वागत गरेकी थिइन्।

भारत यात्रामा आउनु अघि आफ्नो मन्त्रिपरिषद्को आकार निकै ठूलो हुने गरी राज्यमन्त्री थपेका देउवाको भ्रमण टोलीसमेत ठूलो देखिएपछि कैयौंले आलोचना गरेका छन्।

केही वर्षअघि सरकार स्वयंले यस्ता भ्रमणहरुमा मितव्ययीता अपनाउन भन्दै भ्रमण टोलीको आकार सानो बनाउने, विभागीय मन्त्री गएको स्थानमा सचिव नजाने जस्ता मापदण्ड अनुमोदन गरेको थियो।

तर देउवाको भ्रमण टोली त्यसविपरीत रहेको जानकारहरुले बताएका छन्।