काठमाण्डू नेशनल मेडिकलबारे छानबिन शुरु

  • 23 अगस्ट 2017
तस्वीर कपीराइट SWASTHYAKHABAR.COM
Image caption कलेजले अनुमति विनै अस्पताल चलाएको भन्नेबारे पनि छानबिन शुरु गरिएको छ

काठमाण्डू नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयले एमबीबीएस अध्यापन गर्न नियम विपरित अनुमति दिएको भनिएको विषयमा विभिन्न क्षेत्रबाट आलोचना भएपछि सरकारको उच्चस्तरीय न्यायिक छानबीन समितिले कागजपत्र मगाएर छानबिन अघि बढाएको शिक्षा मन्त्रालयले जनाएको छ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको उक्त समितिले दिने प्रतिवेदनका आधारमा सरकारले अनुमतिका बारेमा थप निर्णय गर्ने जनाएको छ।

छानबिन

स्वास्थ्य मन्त्रालयले उक्त मेडिकल कलेजको अस्पताल संचालन अनुमतिका बारेमा पनि छानबिन अघि बढाइसकेको छ।

१० वर्ष सम्म काठमाडौं उपत्यकामा कुनै पनि मेडिकल कलेजलाई अनुमति नदिने भन्दै संसदले नयाँ कानुन पारित गर्ने अन्तिम तयारी गरिरहेका बेला त्रिभुवन विश्वविद्यालयले काठमान्डू नेशनल मेडिकल कलेजललाई एमबीबीएस अध्यापन गर्न अनुमति दिए पछि त्यसको विभिन्न क्षेत्रबाट आलोचना भएको छ।

चिकित्सा शिक्षाक्षेत्रमा सुधारको माग गर्दै पटक पटक अनसन बस्दै आएका डाक्टर गोविन्द केसीले उक्त अनुमति खारेजी गर्न सरकारसँग माग गरेका छन्।

अस्पताल संचालनको समेत अनुमति नपाएको मेडिकल कलेजलाई एमबीबीएस अध्यापन अनुमति दिएको आरोप समेत लागेको छ।

आलोचना

त्रिभुवन विश्वविद्यालयको निर्णयको आलोचना भए पछि सरकारी उच्चस्तरीय छानबिन समितिले त्यस बारेमा कागजात मगाएर छानबिन शुरु गरेको शिक्षामन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले बताए।

उनले भने "त्रिभुवन विश्वविद्यालय, काठमाण्डू विश्वविद्यालय लगायत निजी मेडिकल कलेजहरुको काममा केही अनियमितता छ भने त्यसलाई छानबिन गर्न गठित समिति हो यो। समितिले यो विषयलाई पनि आफ्नो कार्यक्षेत्रमा लिएर काम थालिसकेको छ। पत्राचार गरेर कागजपत्र झिकाउने काम गरिसकेको छ। "

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको उक्त समितिले छानबिन गरेर निकाल्ने निष्कर्षका आधारमा अनुमति खारेज गर्ने या निरन्तरता दिने बारेमा सरकारले निर्णय लिने बताइएको छ।

उक्त मेडिकल कलेजले संचालन गरेको अस्पताल समेत विवादमा तानिएको छ।

संचालन अनुमति

दुई पटक स्वास्थ्य मन्त्रालयमा अस्पताल संचालन अनुमतिका लागि आवेदन दिएको भएपनि मन्त्रालयले अनुमति नदिएकै अवस्थामा अस्पताल सन्चालनमा आएकाले छानबिन अगाडि बढाइएको स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले बताए।

उनले भने, "अस्पताल संचालनका लागि आवश्यक पर्ने पूर्वाधारको मापदण्ड हुन्छ त्यो अनुरुप नभएकाले अगाडि बढेको थिएन, तर एकाएक त्यो सन्चालन भएको भन्ने सार्वजनिक भएपछि छानबिन टोली बनाएका छौं। स्वास्थ्य मन्त्रालयका सबै निर्णयहरु हेर्दा खेरी हाल सम्म अनुमति विना संचालनमा आएको देखिन्छ। "

स्वास्थ्य मन्त्रालयले गठन गरेको छानबिन समितिलाई ७ दिनको समय दिइएको र अस्पताल अनुगमन गरेर तयार हुने प्रतिवेदनका आधारमा आवश्यक कारवाही अगाडी बढाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयले भने काठमाण्डू नेशनल मेडिकल कलेजललाई एमबीबीएस संचालनका लागि सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने क्रममा त्यस्तो अनुमति दिइएको जनाएको छ।