आक्रमणको आशंकामा कार्यक्रम स्थगित

  • 24 अगस्ट 2017
कार्यक्रम तस्वीर कपीराइट AFP/Getty Images

स्पेनिश प्रहरीले आक्रमण हुन सक्ने सूचना दिएपछि नेदरल्याण्ड्सको रोटाडाममा हुने भनिएको एउटा सांगीतिक कार्यक्रम स्थगित भएको छ।

उक्त सूचनाका आधारमा नेदरल्याण्ड्सको प्रहरीले अन्तिम समयमा सांगीतिक कार्यक्रम स्थगित गर्न लगाएको अधिकारीहरुले बताएका छन्।

अमेरिकी सांगीतिक समूह अल्लाह-लसले आफ्नो प्रस्तुति दिने कार्यक्रम थियो।

स्पेनिश प्रहरीबाट सूचना पाएको केही घण्टापछि प्रहरीले ग्यासका सिलिण्डरहरु बोकेको एउटा भ्यानलाई कार्यक्रमस्थल नजिक जानबाट रोकेको थियो।

सोधपुछ

स्पेनमा दर्ता गराइएको सो भ्यानका चालकसँग सोधपुछ भइरहेको बताइएको छ।

यद्यपि आतंकवादी हमला गराउने योजनासँग उनको सम्बन्ध रहे वा नरहेकोबारे अहिल्यै केही भन्न हतार हुने रोटाडामका मेयर अहमद अबुतालेबले बताएका छन्।

तस्वीर कपीराइट EPA

भ्यानका चालकलाई सोधपुछका लागि लगिएपछि बम निष्क्रिय पार्ने टोलीले भ्यानको निरीक्षण गरेको बताइएको छ।

गोली नछिर्ने 'बुलेटप्रुफ भेस्ट' लगाएका प्रहरीहरुलाई कार्यक्रम हुने भनिएको ठाउँमा हेर्न सकिन्छ।

धम्की

अल्लाहको नामको दुरुपयोग गरेको भन्दै नियमितजसो धम्की आउने गरेको उक्त सांगीतिक समूहले बताउने गरेको छ।

पछिल्लो पटक चाहिँ अन्तिम समयमा आएर कार्यक्रम नै स्थगित गर्नुपरेको छ।

१५ जनाको ज्यान जाने गरी स्पेनका दुईवटा शहरमा गत हप्ता गराइएका आक्रमणपछि सुरक्षा सतर्कता बढाइएको पृष्ठभूमिमा पछिल्लो धम्की आएको हो।

ग्यास सिलिण्डरहरु राखिएको एउटा घरमा भएको विस्फोटपछि ती आक्रमणहरु गराइएका थिए।