नेपालको संविधान सफल हुने मोदीको विश्वास

  • 24 अगस्ट 2017
देउवा र मोदी तस्वीर कपीराइट RSS

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न वर्गसँगको संवाद कायम राख्दै नेपालको संविधान सफल रुपमा लागू हुने विश्वास व्यक्त गरेका छन्।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तापछि पत्रकारलाई संयुक्त रुपमा सम्बोधन गर्दै मोदीले उक्त धारणा व्यक्त गरेका हुन्।

नेपालमा लोकतान्त्रिक व्यवस्था बलियो बनाउन प्रधानमन्त्री देउवाले व्यक्तिगत रुपमा निर्वाह गरेको भूमिकाको उनले प्रशंसा पनि गरे।

प्रशंसा

उक्त प्रसंग जोड्दै मोदीले भने, "मलाई पुरा विश्वास छ, तपाईँको कुशल र अनुभवी नेतृत्वमा समाजको सबै वर्गसँग कुराकानीको प्रक्रिया जारी राख्दै नेपाल आफ्ना सबै नागरिकको आकांक्षा समाहित गरेर संविधान सफलतापूर्वक लागू गर्न सक्नेछ।"

प्रधानमन्त्री मोदीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लगायतका अन्य विषयमा केही टिप्पणी गरेनन्।

तर हालै सम्पन्न निर्वाचनबारे उनले भने, "स्थानीय तहको चुनाव दुई चरणमा सफलतापूर्वक गराएकोमा नेपाल सरकारलाई बधाई दिन चाहन्छु।"

प्रधानमन्त्री देउवाबाट आफूले अरुण तेश्रो जलविद्युत आयोजनाको शिलान्यासको निम्तो पाएको जनाउँदै उनले त्यसको निम्ति देउवालाई धन्यवाद दिए।