'एकसय मेगावाट सम्म थप बिजुली ल्याउन सकिने'

  • 24 अगस्ट 2017
Image caption १ सय ३२ केभी क्षमताका दुबै प्रसारण लाइन भारत सरकारको सहयोगमा निर्माण भएका हुन्

हिउँदमा लोडशेडिङ्को मार थपिने चिन्ताका माझ अब नेपाललाई आवश्यक परेका बेला एक सय मेगावाटसम्म थप बिजुली भारतबाट ल्याउने बाटो खुलेको नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले बताएका छन्।

त्यो सुविधा भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेको दुई देश जोड्ने दुईवटा विद्युत प्रसारण लाइनबाट लिन सकिने भएको हो।

भारतीय सहयोगमै निर्माण गरिएका ती प्रसारण लाइन नेपालको केन्द्रिय प्रसारण लाइनसंग जोडिएकाले आउँदो हिउँदमा लोडशेडिङ कम गर्न सघाउ पुग्ने बताइएको छ।

उद्घाटन

रक्सौल-परवानीपुर र कुशाहा—कटैया अन्तरदेशीय प्रसारण लाइनको बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदरावाद हाउसमा स्वीच थिचेर उद्घाटन गरेका थिए।

१ सय ३२ केभी क्षमताका ती दुवै प्रसारण लाइन भारत सरकारकै सहयोगमा निर्माण भएका हुन्।

अब नेपाललाई आवश्यक परेका बेला भारतबाट थप विद्युत ल्याउन सहज भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

उनले भने, "एकसय मेगावाट सम्म थप विद्युत लिन सक्ने संरचना बनेको छ। यो लिनै पर्ने भन्ने छैन, चाहेको बेलामा लिने हो। अब बाटो बन्यो आवश्यकता परेका बेला हामीले लिन सक्ने भएका छौं।"

प्रसारण लाइन

ती प्रसारण लाइनबाट ल्याइने विद्युत भारतको केन्द्रिय प्रसारण लाइनबाट नभै बिहार प्रान्तको लाइनबाट ल्याउने बताइएको छ।

जसको मूल्य केन्द्रिय प्रसारण लाइनबाट नियमित रुपमा ल्याइने बिजुली भन्दा केही बढी भए पनि त्यसबाट लोडशेडिङ कम गर्न सघाउ पुग्ने कार्यकारी निर्देशक घिसिङले बताए।

उनले भने, "गत वर्ष तराईका केही भाग बाहेक अन्यत्र लोडशेडिङ गरिएको थिएन। अब यसपाली यसले हामीलाई ठूलो सघाउ पु-याउँछ। माग पनि केही बढछ, एकसय मेगावाट थप हुँदा राम्रो हुन्छ। लोडशेडिङ गत वर्षको भन्दा कम नै हुन्छ।"

सहमत

हालै भारतमा भएको नेपाल-भारत पावर एक्सचेन्ज कमिटीको बैठकमा भारतसँग रक्सौल-परवानीपुर र कुशाहा—कटैया प्रसारण लाइनबाट आवश्यक परेका बेला विद्युत दिन भारतीय पक्ष सहमत भएको र त्यसको मूल्य पनि निर्धारण भैसकेको घिसिङले बताए।

विशेष गरी ती प्रसारण लाइनबाट नेपालले हिउँद याममा मात्रै विद्युत ल्याए पुग्ने बताइएको छ।

गत वर्ष हिउँदका बेला विद्युतको धेरैमाग हुने समयमा भारतबाट ३ सय ८० मेगावाटसम्म बिजुली नेपालले आयात गरेको थियो।