रक्कामा अस्थायी संघर्षविराम गर्न अपील

  • 25 अगस्ट 2017
रक्का तस्वीर कपीराइट Reuters

संयुक्त राष्ट्रसंघले तथाकथित इस्लामिक स्टेटको नियन्त्रणमा रहेको सिरियाको रक्का शहरबाट सर्वसाधारणलाई निस्किन दिनका निम्ति अस्थायी संघर्षविराम गर्न आह्वान गरेको छ।

लडाइँका कारण रक्कामा २५ हजार मानिसहरु फसेको राष्ट्रसंघको विश्वास छ।

गठबन्धन फौजसँग भीषण लडाइँ भइरहँदा आइएस लडाकुहरुले सर्वसाधारणलाई शहर छोडेर जान नदिने प्रयास गरिरहेका छन्।

राष्ट्रसंघले हवाई हमला गरिरहेको गठबन्धन फौजलाई केही समयका निम्ति आफ्नो कारबाही रोक्न आग्रह गरेको हो।

मानवढाल

राष्ट्रसंघका एकजना अधिकारीले तथाकथित इस्लामिक स्टेटबाट चाहिँ कसैले कुनै दयाको अपेक्षा गर्न नसक्ने बताएका छन्।

उनका अनुसार आइएस लडाकुहरुले सर्वसाधारणलाई मानवढालका रुपमा प्रयोग गर्न भरमग्दुर प्रयास गरिरहेका छन्।

तस्वीर कपीराइट Reuters

आइएस र गठनबन्धन फौजबीच जारी लडाइँमा सयौं मानिसको ज्यान गएको ठानिएको छ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याशनलले त्यहाँको अवस्था निकै 'डरलाग्दो' भएको बताएको छ।

दुर्भाग्य

राष्ट्रसंघले सिरियामा अस्थायी युद्धविरामका निम्ति आग्रह गरेको यो पहिलो पटक चाहिँ होइन।

यसअघि उसले अलेप्पोमा पनि त्यस्तै प्रकृतिको अपील गरेको थियो।

त्यसभन्दा पनि धेरै समयअघि राष्ट्रसंघले होम्स शहरमा अस्थायी संघर्षविराम गर्न अपील गरेको थियो।

तर रक्काको हकमा सर्वसाधारणका लागि दुर्भाग्यको विषय के हो भने युद्धरत पक्षमध्ये एउटा पक्षले जित्न लागेको ठान्नेसम्म संघर्षविराम हुने देखिंदैन।