सहकार्यको सम्भाव्यता अध्ययन गर्ने सहमति

  • 25 अगस्ट 2017
भेट तस्वीर कपीराइट PM_INDIA

नेपाल र भारतबीच निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने लगायतका करिब एक दर्जन योजनाहरुमा आपसी सहकार्यको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत बसाइको दोस्रो दिन बिहीवार अबेर जारी दुई देशको संयुक्त वक्तव्यमा रेलमार्ग तथा 'एक्सप्रेस वे' निर्माणदेखि लिएर सुख्खा बन्दरगाहसम्मका योजनामा सहकार्यको परिकल्पना गरिएको छ।

त्यसमध्ये कुशीनगर-लुम्बिनी-कपिलवस्तु र बर्दिवास-वीरगञ्ज रेलवे, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, १३२ केभीका थप नयाँ प्रसारण लाइनको निर्माण, बुटवल-गोरखपुर तथा लम्की-बरेली अन्तरदेशीय प्रसारण लाइन, विशेष आर्थिक क्षेत्रको विकास लगायत छन्।

यसैगरी वीरगञ्ज-पथलैया-नारायणगढ सडक मार्गको स्तरोन्नति र बुटवल-पोखरा सडकमार्गलाई 'एक्सप्रेस वे' बनाउने लगायतका योजना छन्।

आठ समझदारीपत्रमा हस्ताक्षर

नेपालको संविधान सफल हुने मोदीको विश्वास

कार्यान्वयन

४६ बुँदे संयुक्त वक्तव्यको अधिकांश बुँदामा पहिले उठिसकेका विषयमा भएको भनिएका प्रगतिबारे दुवै देशका प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेको उल्लेख छ।

पुनर्निर्माणसहित विभिन्न आठ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएका छन्।

वक्तव्यमा पञ्चेश्वर परियोजनाको बहुप्रतीक्षित विस्तृत योजना अध्ययन प्रतिवेदन एक महिनाभित्र टुंग्याउन सम्बन्धित अधिकारीहरुलाई प्रधानमन्त्रीहरुले निर्देशन दिएको उल्लेख छ।

करिब २१ वर्षअघि देउवाको शुरुवाती प्रधानमन्त्री कालमा सहमति भएपनि पञ्चेश्वर परियोजना हालसम्म कार्यान्वयनको दिशामा अघि बढ्न सकेको छैन।

तर पछिल्लो सहमतिलाई भारतीय विदेशसचिव एस जयशंकरले ठूलो उपलब्धिका रुपमा व्याख्या गरे।

उनले भने, "यो परियोजना ५ हजार मेगावट हाराहारी क्षमताको छ। यो बन्यो यो क्षेत्रकै ठूलो तथा नमूना आयोजना हुनेछ।"