बाढीका कारण नौ लाख विद्यार्थी प्रभावित

  • 25 अगस्ट 2017
विद्यालयमा बसेका बाढी पीडित

बाढीले क्षति पुर्याएको तराईका करिब २ हजार विद्यालयका झन्डै ९ लाख विद्यार्थीको पठनपाठन अझैसम्म प्रभावित भएको शिक्षा मन्त्रालयले बताएको छ।

मन्त्रालयका अनुसार बाढीले विद्यालयहरुमा दशौं करोड रुपियाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ।

तर कतिपय क्षति नभएका विद्यालयमा पनि बाढी पीडितले आश्रय लिएर बसेकाले पठनपाठन ठप्प छ।

विद्यालय बन्द

बाढी प्रभावित मध्येको ग्रामिण भेगका केही विद्यालय अझै डुवानमा रहेकोले र कतिपय स्थानमा विद्यालय जाने बाटोनै भत्किएकाले पनि विद्यार्थीहरु पढ्न जान नपाएका बताइएको छ।

तर कतिपय ठाउँमा चाहिं विद्यालयनै सबैभन्दा सुरक्षित स्थान रहेको भन्दै बाढी पीडितहरुले शरण लिएर बसेकोले पनि पठन पाठन शुरु हुन नसकेको देखिएको छ।

विराटनगर नजिकैको बखरी निम्न माध्यमिक विद्यालयका एक अभिवावक जितेन्द्र ऋषिदेवले भने, "जुन दिनदेखि बाढी आयो त्यो दिनदेखि विद्यालय खचाखच भरिएकोले विद्यालय स्थगित गर्न पर्यो।"

शिक्षा मन्त्रालयले अझै पनि बाढीले शिक्षा क्षेत्रमा पुर्‍याएको क्षतिको पूर्ण तथ्याङ्क संकलन गरि नसकेको बताएको छ।

नौ लाख प्रभावित

पछिल्लो विवरणका अनुसार बाढी प्रभावित क्षेत्रका करिब नौ लाख विद्यार्थी प्रभावित भएको शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल बताउँछन्।

उनले भने, "हाम्रो अहिलेसम्मको तथ्याङ्कमा प्रभावित विद्यालयको संख्या झन्डै दुई हजार छ। करिब नौ लाख विद्यार्थी प्रभावित देखिन्छन्।"

शिक्षा मन्त्रालयका अनुसार कतै विद्यालयको भवनको गाह्रो नै भत्किएका छन्।

कतै विद्यालय भित्रै बाढी पसेको छ र त्यसले ल्याएका हिलो र अन्य फोहोर सफा नगरी पठन पाठन गर्न नसकिने अवस्था छ।

करोडौंको क्षति

बाढीले दशौं करोडको क्षति पुर्‍याएको प्रवक्ता लम्सालले बताए।

उनले भने, "मध्यमाञ्चलको मात्र हिसाब निकाल्दा झन्डै ५२ करोडको हिसाब निस्केको छ अहिलेसम्मको प्रारम्भिक अभ्यासमा।"

त्यसमा विद्यार्थीको पाठ्यपुस्तक, विद्यालयको शैक्षिक सामाग्री, फर्निचर, कक्षाकोठा आदिको हिसाब निकाल्दै गरेको प्रवक्ता लम्सालले बताए।

पहिले क्षतिको पूर्ण आकंलन गर्ने र दोस्रो चरणमा सरसफाई गरी विद्यालय संचालन गर्ने अनि तेस्रो चरणमा मर्मत र पुनर्निर्माण गर्ने योजना रहेको शिक्षा मन्त्रालयले जनाएको छ।