प्रधानमन्त्री देउवाको भनाइप्रति असन्तुष्टि

  • 25 अगस्ट 2017
तस्वीर कपीराइट PM_INDIA
Image caption प्रधानमन्त्री देउवाले संविधान संशोधनका बारेमा बोलेको कुराको आलोचना गरिएको छ

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान संशोधनका बारेमा व्यक्त गरेका विचार प्रति विपक्षी मात्र होइन सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका नेताहरुले पनि असन्तुष्टि व्यक्त गरेका छन्।

आवश्यक नभएको विषयमा प्रधानमन्त्रीले बोलेको आरोप माओवादी केन्द्रका नेताहरुको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिले संसदले गरेको फैसलाको विदेशमा धज्जी उडेको आरोप लगाए।

समर्थन

प्रधानमन्त्री देउवाले दुई तिहाइ नभएका कारण संविधान संशोधन गर्न नसकिएको र त्यो संख्या पुगेपछि संविधानलाई सबै नेपालीले समर्थन गर्ने खालको बनाउने विचार व्यक्त गरेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवा ५ दिने भारत भ्रमणको क्रममै छन्।

तर उनले आफ्ना समकक्षी नरेन्द्र मोदीसँगको ‍औपचारिक भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दिएका अभिव्यक्तिको भने नेपालमा आलोचना शुरु भइसकेको छ।

जसमा प्रधानमन्त्री देउवाको सत्तासाझेदार दल माओवादी केन्द्रका नेताहरु पनि उभिएका छन्।

अपमान

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सामाजिक संजाल ट्विटरमा देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा संविधानका बारेमा बोलेको कुराले नेपाल र नेपालीको अपमान गरेको भन्दै आलोचना गरे।

त्यस्तो धारणा राख्नुको कारणबारे श्रेष्ठले भने, " राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि चुनावमा भाग लिने स्थिति बन्यो र संविधान कार्यान्वयनको दिशामा देश अगाडि बढी सक्यो। त्यो कुरा प्रस्तुत गर्नु पर्नेमा उल्टो हामीले अझै गर्न सकेका छैनौं, अव संविधान संशोधन गरेपछि सबैले स्वीकार गर्ने स्थिति बन्छ भनेर भन्नु एकदमै गलत हो। एउटा प्रधानमन्त्रीका रुपमा भन्नै नमिल्ने कुरा हो।"

उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भारतमा भएका गतिविधिको शुक्रवार जानकारी लिएको बताएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपनि प्रधानमन्त्रीको भनाइबाट सन्तुष्ट देखिएनन्।

प्रदेश नम्बर ६ को सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, "दुईवटा कुरा नबोले पनि हुने बोलियो भनेर उहाँले मलाई जानकारी गराउनु भएको छ। संविधान संशोधनको विषय अहिलेलाई टुङगिएको छ। हामीले फेरि संविधान संशोधन गर्नु पर्छ भनेर बोल्न आवश्यकै थिएन, त्यो अनावश्यक कुरा बोलियो भन्ने त्यहाँका मानिसहरुलाई पनि परेको छ।"

आलोचना

शुक्रबार उपचारका लागि थाइल्यान्ड जाने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिको चर्को आलोचना गरे।

उनले भने, "देशको प्रधानमन्त्री जसले संविधानको शपथ लिनु भएको हो, त्यसको सर्व स्वीकार्यताका कुरा असान्दर्भिक रुपमा उठाउनु भएको छ। भर्खरै संविधान संशोधनका विषयमा संसदले गरेको फैसलालाई उहाँले विदेशमा गएर धज्जी उडाउनु भएको छ।"

भारतीय सरकारसँगको औपचारिक भेटघाट सकेका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार मात्रै नेपाल फर्कने छन्।

फर्केलगत्तै उनले आफ्नो अभिव्यक्तिबारे सबभन्दा पहिले आफ्नै सत्ता सहयात्रीलाई आश्वस्त पार्नुपर्ने देखिन्छ।